काठमाडौं। काठमाडौंस्थित त्रिचन्द्र कलेजको पुनर्निर्माण गर्नुपर्ने माग राख्दै विद्यार्थीले प्रदर्शन गरेका छन्। भूकम्पले जीर्ण बनेको कलेज पुनर्निर्माण गर्न माग गर्दै विद्यार्थीले मंगलबार कलेज अगाडी प्रदर्शन गरेका हुन्।
लामो समयदेखि जीर्ण अवस्थामा रहेका कलेजका भवनहरूको पुनर्निर्माण र स्तरोन्नती नगरेको भन्दै विद्यार्थी प्रदर्शनमा उत्रिएका हुन्।
उनीहरूले कलेज अगाडिको सडकमा आधा घण्टा पुस्तक पढेर सांकेतिक विरोध प्रदर्शन गरेका थिए । उनीहरूले ‘सेभ त्रिचन्द्र, सेभ घण्टाघर’‚ ‘प्रधानमन्त्री ज्यू, तपाईंले पढेको कलेज कहिले बन्ने ?’, ‘इतिहास ढल्दैछ सरकार मौन छ’, ‘भ्यु टावरचाहीँ बन्ने त्रिचन्द्रचाहीँ नबन्ने ?’ जस्ता नारा लेखिएको ब्यानर देखाएर प्रदर्शन गरेका थिए।