मनाङ । बाढीले अवरुद्ध भएको चार महिनापछि बेसीसहर–चामे सडक पुर्ण रूपमा सञ्चालनमा आएको छ । गत असार १ गतेदेखि बाढीका कारण अवरुद्ध भएको सडक चार महिनापछि सञ्चालनमा आएको मनाङका प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले जानकारी दिए ।
चार महिनापछि चामेबाट गाडीमा आउँदा खुसी लागेको स्थानीयले बताए । बेसिशहरदेखि चामे हुँदै माथिल्लो मनाङको खाङसारसम्म सवारी पुग्ने भएपछि बेँसीसहरका व्यापारीसमेत सामान पठाउन सहज भएको बताउँछन् । सडक अवरुद्ध हुँदा मनाङ जान तथा आउन हेलिकोप्टरको भर पर्नुपरेको थियो । यसअघि चामे गाउँपालिका र मनाङ ङिस्याङ गाउँपालिका जोड्ने भ्राताङ भिरको सडक मर्मतपछि माथिल्लो मनाङको सडक पनि सञ्चालनमा आएको थियो ।
बेसीसहर–चामे सडकखण्डको मनाङकै तलेखुदेखि भ्राताङबीचको सडकखण्ड मर्मत भएपछी आइतबारबाट पुर्ण रुपमा सन्चालनमा आएको हो । बाढीपहिरोले सडक तथा पुलमा क्षति पुर्याएपछि लामो समयसम्म मनाङ बाहिरी जिल्लासँग सडकसम्पर्क विच्छेद हुन पुगेको थियो । मनसुनको सुरुवातमै आएको बाढीपहिरोले मनाङमा भौतिक संरचनामा ठूलो क्षति पुर्याएको थियो । जसका कारण आवतजावतका साथै खाद्यान्न ढुवानीमा समेत हेलिकोप्टरकै भर पर्नुपरेको थियो ।