काठमाडौं। सिक्टा सिंचाइ आयोजनाको राप्ती नदीबाट खेतीयोग्य जमिन बचाउने जिम्मा पाएको निर्माण कम्पनी सम्पर्कबिहीन भएको छ। सिक्टा सिंचाइ आयोजनाले सूचना जारी गरी पत्रचार गर्दा र पटक पटक साइट निरीक्षण गर्दा समेत निर्माण व्यवसायी सम्पर्कमा नआएको जनाएको हो।
पटक पटक म्याद थप गरी अन्तिम पटक यहि जेठ ३१ गतेसम्मको म्याद थप भएपनि सम्झौता अनुसार काम नभएको आयोजनाले जनाएको छ। आयोजनाले गैर जिम्मेवारी तरिकाले कमाण्ड एरिया प्रोटेक्सन जस्तो संवेदनशील कार्यमा लापरबाही किन गरिएको भनि सूचना मार्फत स्पष्टीकरण सोधेको छ।
काममा लापरबाही गरिनुमा कुनै खास कारण भए १५ दिनभित्र आयोजनामा सम्पर्क राख्न समेत आयोजनाले आग्रह गरेको छ। सूचना प्रकाशन भएको १५ दिनभित्र स्पष्टीकरणसहित निर्माण व्यवसायी आयोजनामा उपस्थित नभए ठेक्का तोड्ने चेतावनी समेत दिइएको छ।
राप्ती नदीबाट खेतियोग्य जमिन बचावट कार्यको ठेक्का नम्बर १६ को निर्माण गर्न २०७५ असार १७ गते आयोजना र श्री देव एण्ड सायर–मल्ल जेभीबीच सम्झौता भएको थियो। पटक पटक गरी अन्तिम पटकलाई २०७९ जेठ ३१ गते सम्म म्याद थप गरिएको थियो। अन्तिम म्याद थपको समेत समय सकिँदासम्म पनि निर्माण कम्पनी साइटमै नभेटिएपछि आयोजनाले सूचना निकालेको हो।
