कञ्चनपुर। कञ्चनपुरको महेन्द्रनगर बजारमा सडक कालोपत्र गर्ने अलकत्रा बोकेको ट्याङ्करमा आगलागी भएको छ। ना४ख ७८८८ नंको ट्याङ्कर सोमबार राति निर्माणस्थलमा दिनेश चौधरीले चलाइरहेकै अवस्थामा एक्कासी आगलागी भएको हो।
आगलागी हुँदा ट्याङ्कर पूर्णरूपमा जलेको छ । भीमदत्त नगरपालिका–१८ पार्क मोड हुँदै आँखा अस्पतालसम्मको सडक कालोपत्र गर्नका लागि अलकत्रा बोकेको ट्याङ्करमा आगलागी भएको प्रहरीले जनाएको छ। एक्कासी आगलागी हुँदा ट्याङ्करमा जलेर पूर्णरूपमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
घटनामा ट्याङ्करको पछाडि रहेका सहचालक निर्बल चौधरी घाइते भएको र उनको महाकाली प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।
दमकलको सहायताले आगो निभाइएकाले थप क्षति भने हुन पाएन ।