काठमाडौं। म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ घारमा निर्माणधिन १४ मेगावाट क्षमताको घरखोला जलविद्युत आयोजना को काम अन्तिम चरणमा पुगेको छ। सो आयोजनाको ९० प्रतिशत निर्माण सम्पन्न भएको हो।
आगामी मङ्सिर महिनादेखि व्यापारिक उत्पादन सुरु गर्ने लक्ष्य सहित आयोजनाले निर्माणलाई तिव्रता दिएको छ। दश महिना अघि तीन हजार पाँच मिटर सुरुङ मार्गको ब्रेक थ्रु भएको आयोजनाले यतिखेर सुरुङ भित्र ढलानको काम गरिरहेको बताइएको छ।
पोखरेबगरमा आयोजनाको विद्युत गृह निर्माण धमाधम भइरहेको आयोजनाले जनाएको छ। आगमी असोज महिना देखि परीक्षण उत्पादन गर्ने र मङ्सिरबाट व्यापारिक उत्पादन थाल्ने आयोजनाको लक्ष्य रहेको बताइएको छ।
अन्नपूर्ण गाउँपालिका–५ शिख र ६ घारको सिमानामा पर्ने कुरिलाबगरमा जगदेखि ११ मिटर अग्लो बाँध निर्माण गरिएको छ। ड्याम निर्माण यसअघि नै सम्पन्न गरेको आयोजनाले असार मसान्त पछि हेडवक्सका संरचनाहरुमा पानी भरेर परीक्षण थाल्ने आयोजनाले जनाएको छ।
बाँध नजिकै ४५ मिटर लम्बाइको दुई वटा पानी थिग्राउने पोखरी (डिसेन्डर) निर्माण गरिएको छ। डसेन्डरदेखि सुरुङसम्म दुई सय ४८ मिटरमा १८५ मिटर पाइप जडान सकिएको छ। डिसेण्डर एप्रोच क्यानल जडान कार्य सम्पन्न भएको छ। पोखरेबगर स्थित गोजेखोल्सीमा पहाड काटेर जग्गा तयार पारेको जग्गामा विद्युत गृह हुनेछ।
आयोजनाको इलेक्ट्रिकल ठेकेदार सिमर इनर्जी प्रा.लि इन्डिया र हाइड्रोमेकानिकल ठेकेदार सिई हाइड्रोमेकानिकल वर्क प्रा.ली.ले उपकरण तयार पारेको छ।