काठमाडौं। स्विजरल्याण्डले नेपाललाई जलविद्युत आयोजनाका लागि आवश्यक प्राविधिक सहयोग गर्ने भएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि स्विजरल्याण्डकी राजदूत एलिजाबेथ भोन क्यापलरले शिष्टाचार भेट गर्दै नेपालको जलविद्युत क्षेत्रका लागि टर्वाइन र टनेल प्रविधिमा सहयोग गर्ने बताएकी हुन्।
उनले नेपाललाई आर्थिकभन्दा पनि प्राविधिक सहयोग आवश्यक रहेको उल्लेख गर्दै निरन्तर प्राविधिक सहयोग गर्ने विश्वास दिलाइन्।
उनले भनिन्, ‘हामीसँग टनेल एवं टर्बाइनजस्ता प्राविधिक क्षेत्रका लागि आवश्यक पर्ने ज्ञान र सीप छन्, त्यसमा नेपाललाई सहयोग गर्न चाहन्छौं।’
जलवायु परिवर्तनको असरका कारण आफ्नो देशको तापक्रम वृद्धि हुँदै गएको राजदूत क्यापलरको भनाइ छ। मन्त्रालयमा मंगलबार भएको भेटमा उनीहरूबीच द्विपक्षीय सम्बन्ध र सहयोगका विविध विषयमा छलफल भएको बताइएको छ।
स्वीस सरकारले नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षामा महत्त्वपूर्ण सहयोग गर्दै आएको स्मरण गर्दै मन्त्री भुसालले आगामी दिनमा पनि ऊर्जा क्षेत्रमा आवश्यक पर्ने प्राविधिक तथा आर्थिक सहयोग प्राप्त हुने अपेक्षा गरिन् ।
नेपाल जलवायु परिवर्तनको असरले ठूलो समस्यामा पर्दै गएको उल्लेख गर्दै उनले दुवै देशको साझा समस्याका रूपमा रहेको जलवायु परिवर्तनको असर कम गर्न सहकार्य आवश्यक रहेको बताइन्।