काठमाण्डौं। जुम्लाको तातोपानी गाउँपालिकाले पाँच शय्याको अस्पताल निर्माण गर्ने भएको छ। आगामी साउनबाट तातोपानी गाउँपालिका–६ स्थित हियाँखोलामा पालिकाले पाँच शय्याको अस्पताल निर्माण गर्ने भएको हो।
अस्पताल निर्माणका लागि डिपिआरसमेत तयार भइसकेको गाउँपालिकाले जनाएको छ। आउने साउन महिनाबाट अस्पताल निर्माण प्रक्रिया अघि बढ्ने भएको छ। डिपिआर सबैको सहमतिमा पास भएको छ। अस्पतालका लागि आवश्यक जग्गासमेत प्राप्त भइसकेको गाउँपालिकाले बताएको छ।
गाउँमा नै सुत्केरी गराउनेको सङ्ख्या वृद्धि हुने र स्वास्थ्य सेवाको राम्रो पहुँच वृद्धि गर्ने उद्देश्यले सो अस्पताल निर्माण गर्न लागिएको हो। अस्पताल निर्माण भएसँगै स्थानीयबासीलाई ठूलो राहत मिल्ने विश्वास गरिएको छ। अस्पताल निर्माणका लागि सोही गाउँपालिका–६ निवासी विष्णु रोकायाले तीन हजार ८३८ वर्गमिटर जग्गा निःशुल्क प्रदान गरेकाछन।
अस्पताल निर्माण भएपछि यहाँका सबै वडाका स्थानीयवासीले सहजै रुपमा गाउँमा सुविधा स्वास्थ्य सेवा पाउने गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ। बीस लाख लगानीमा डिपिआर तयार भएको छ।