काठमाडौं। पछिल्लो समय नेपालमा विद्युतीय गाडीको आयात बढ्न थालेको छ। गत वर्षसम्म न्यून रहेको विद्युतीय गाडीको आयात चालू आर्थिक वर्षमा उल्लेख्य बढेको हो।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आवको ११ महीनामा १७ सय थानभन्दा बढी विद्युतीय गाडी नेपाल भित्रिएका छन्। विभागका अनुसार गत साउनदेखि जेठ सम्ममा १ हजार ७०४ विद्युतीय गाडी नेपालमा आयात भएको छ। गत आर्थिक वर्षको ११ महीनाको तुलनामा चालू आवमा विद्युतीय सवारीसाधनको आयात ७०० प्रतिशतले बढेको छ। गत आव २०७७/७८ को ११ महीनामा २१३ विद्युतीय सवारीसाधन आयात भएका थिए।
विभागको तथ्यांकअनुसार चालू आवमा सबैभन्दा धेरै विद्युतीय गाडी चीनबाट भित्रिएका छन् । चीनबाट १०० किलोवाटका १५४ र १५० देखि २०० सम्म किलोवाट क्षमताका ६५६ गरी ८१० गाडी नेपाल भित्रिएका हुन् । चीनपछि भारतबाट धेरै विद्युतीय गाडी नेपाल भित्रिएका छन् । भारतबाट १०० किलोवाट क्षमताका ६०८, दक्षिण कोरियाबाट १०० किलोवाट क्षमताका १३२ र फ्रान्सबाट एक गाडी नेपाल भित्रिएको छ । यस्तै यूकेबाट १०० दखि १५० किलोवाट क्षमताका १३, चीनबाट १५० देखि २०० किलोबाट क्षमताका ६५६, दक्षिण कोरियाबाट १०० देखि २०० किलोवाट क्षमताका ५२, जापानबाट ७८ गाडी नेपाल आएका छन् । यूकेबाट २०० देखि ३०० किलोवाट क्षमताका चार र यूकेबाटै ३०० किलोवाटभन्दा बढी क्षमताका २ विद्युतीय गाडी नेपाल भित्रिएका हुन् ।
पाँच अर्बका गाडी भित्रिए
चालू आवको ११ महीनामा ५ अर्ब रुपैयाँभन्दा बढीको विद्युतीय गाडी नेपाल भित्रिएका छन् । भन्सार विभागको तथ्यांकअनुसार जेठ मसान्तसम्म १ हजार ७०४ विद्युतीय गाडी नेपाल भित्रिँदा ५ अर्ब ५ करोड १६ लाख १३ हजार रुपैयाँ विदेशिएको छ । उक्त संख्याको विद्युतीय गाडी आयातबाट सरकारले १ अर्ब ३५ करोड ४१ लाख बराबर राजस्व संकलन गरेको छ । सरकारले डिजेल तथा पेट्रोलबाट सञ्चालन हुने गाडीको आयातमा रोक लगाउँदा विद्युतीय गाडी आयातमा वृद्धि भएको बताइएको छ । देशमा विदेशी मुद्राको सञ्चितिमा कमी आएको भन्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गाडीसहित विभिन्न १० वस्तुको आयातमा रोक लगाएको छ ।
मन्त्रालयले गत वैशाख १३ गते राजपत्रमा सूचना प्रकाशन गरी असार मसान्तसम्म उक्त वस्तुको आयातमा रोक लगाएको हो । सरकारले डिजेल तथा पेट्रोलबाट सञ्चालित गाडीको आयातमा रोक लगाएर विद्युतीय सवारीसाधन आयात खुला राखेको थियो ।