काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसालद बडूले पछिल्लो समय पेट्रोलियम पदार्थमा वृद्धि गरिएको मूल्य घटाउने संकेत गरेका छन् ।
करका दरहरुमा समायोजन गरेर भएपनि पेट्रोलियम पदार्थको मूूल्य समायोजन गर्नुपर्ने विषय संसदमा उठेको र सरकारको ध्यानाकर्षण भएको उल्लेख गर्दै मन्त्री बडूले सरकार सोही अनुसार अघि बढन सक्ने बताएका हुन्।
बिहीबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले विद्युतको खपत बढाएर पनि यसको मूल्यलाई सहज बनाउन सकिने योजनामा सरकार रहेको बताए।
मन्त्री बडूले भने, ‘पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने विषयमा सरकारको ध्यानाकर्षण भएको छ। यसको समायोजनका लागि संसदमा जुन कुराहरु आएको छ। ट्याक्स समायोजन गरेर भएपनि घटाउनेतर्फ संसदमा जुन कुराहरु रहेको छ। त्यसको सन्दर्भमा सरकारको ध्यानाकर्षण भएको छ। अर्को विकल्प भनेको विद्युतको खपत बढाउने हो। त्या कामलाई सरकारले प्राथमिकता दिएको छ।’
मन्त्री बडूले विद्युत खपत बढाएर पेट्रोलियम पदार्थको निर्भरता घटाउने कामलाई सरकारले प्राथमिकताका साथ अघि बढाएको दावी समेत गरे।