फाइल तस्बिर
काठमाडौं। टोखाको पन्चेटारमा ९० वटा घरसहितको नयाँ हाउजिङ परियोजना निर्माण हुने भएको छ। सीडी इनोभेटिभ डिजाइन एण्ड कन्स्ट्रक्सन प्रालिले टोखामा आभाष कोलोनी निर्माण गर्ने भएको हो।
अहिले परियोजनास्थलको जग्गा सम्याउने काम लगभग सकिने अवस्थामा पुगेको छ। नगर विकासबाट स्वीकृति लिएर आगामी भदौबाट घर निर्माण थाल्ने हाम्रो योजना रहेको कम्पनीले जनाएको छ।
कुल ४५ रोपनी क्षेत्रफलमा फैलिएको यो परियोजनामा बन्ने घरहरु नियो क्लासिकल डिजाइनमा बन्ने बताइएको छ। घरहरुलाई कुनै कम्पाउन्डले बारिएको हुँदैन। विदेशमा बन्ने घरहरु जस्तै निर्माण हुने हाउजिङ परियोजनाका घरहरु खुला छोडिने अवधारणा परियोजनामा कार्यान्वयन गरिने कम्पनीले जनाएको छ।
घरहरु २२ सय वर्गफीटको चार बेडरुमका हुने छन्। सबै बेडरुममा अट्याच बाथरुम निर्माण हुने छन्। घरहरु पौने ५ आनादेखि ७ आनासम्म बन्ने छन्।
कम्पनीले घरको मूल्य तीन करोड ५० लाखदेखि अधिकतम साढे चार करोड रुपैयाँ तोकेको छ। पहिलो चरणमा कम्पनीले ३० वटा घर तीन करोड ५० लाख रुपैयाँ मूल्य तोकेको छ। तर, पहिलो ३० वटा घर खरिद गर्नेहरुलाई २५ लाख रुपैयाँ छुट दिने कम्पनीले जनाएको छ।
कम्पनीले दुई वर्ष भित्र घर निर्माण गरेर धनीहरुलाई हस्तान्तरण गर्ने लक्ष्य राखेको छ। हाउजिङ परियोजना भित्र हेल्थ क्लब, स्वीमिङ पुलदेखि कम्युनिटी हललगायतका पूर्वाधार निर्माण गर्ने कम्पनीले जनाएको छ।