काठमाडौं। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले पेट्रोलियम पदार्थमा लाग्दै आएको करमा ५० प्रतिशत घटाउन सरकारलाई निर्देशन दिएको छ ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धिबाट सर्वसाधारणलाई असर पर्न गएको भन्दै समितिले तत्कालै करमा ५० प्रतिशत घटाएर जनतालाई राहत दिन निर्देशन दिएको हो।
समितिअन्तर्गतको बजार अनुगमन उपसमितिको बैठकले शुक्रबार आयल निगमका पदाधिकारीसँग छलफल गरेको थियो। छलफलपछि समितिले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय र आयल निगमलाई हाल लाग्दै आएको करमा ५० प्रतिशत घटाउन निर्देशन दिएको हो ।
हाल पेट्रोलमा प्रतिलिटर ६५ रुपैयाँ ६१ पैसा, डिजेलमा ४९ रुपैयाँ ५३ पैसा, मट्टितेलमा १४ रुपैयाँ, हवाई इन्धन आन्तरिकमा प्रतिलिटर २५ रुपैयाँ ७५ पैसा र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर ३२० रुपैयाँ ८४ पैसा कर लाग्दै आएको छ ।