काठमाडौं। काठमाडौं महानगरपालिकाभित्र निर्माण गरिने बहुतले भवनको पार्किङ क्षेत्रको कर नलाग्ने भएको छ। काठमाडौं महानगरपालिकाले शुक्रबार नगरसभामा प्रस्तुत गरेको आर्थिक विधेयकअनुसार भवन निर्माण गर्दा पार्किङ प्रयोजनमा प्रयोग गर्ने गरी नक्सापास भएको भवनको पार्किङस्थल बराबरको क्षेत्रफलको सम्पत्ति कर नलाग्ने भएको हो।
पार्किङ प्रयोजन देखाएर नक्सापास गरेको तर पार्किङस्थलमा अन्य गतिविधि गरेको भए सम्पत्ति कर लाग्ने छ। साथै, महानगरले प्रयोजनविपरित कार्य गरेको पाएमा भने प्रचलित कानूनअनुसार कारवाही गर्ने उल्लेख गरिएको छ।
त्यसैगरी, कोभिड–१९ महामारीका कारण काठमाडौं महानगरमा संचालित होटल, रिसोर्ट वा चलचित्र घरको नाममा रहेको घरजग्गा वा लिजमा लिएर संचालन भएको करदाताले आव २०७८/७९ सम्मको सम्पत्ति कर चुक्ता गरेमा आव २०७९/८० को सम्पत्ति करमा थप ४० प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ।
महानगरले आरसीसी फ्रेम स्ट्रक्चर भवनको वार्षिक ह्रासकट्टी दर बढाएर १.५ प्रतिशत पुर्याएको छ। आव २०७८/७९ मा यो दर वार्षिक एक प्रतिशत मात्रै थियो। भवनको ह्रासकट्टी आयु भने ७५ वर्षबाट घटाएर ५० वर्ष कायम गरेको छ।
काठमाडौं महानगरले प्रमुख सडक वा सडकको दायाँबायाँका जग्गाहरुको सम्पत्ति कर मूल्यांकन प्रयोजनका लागि कायम गरिएको प्रतिआना जग्गाको मूल्य आव २०७८/७९ कै दर कायम गरेको छ। भूमि करको दररेट पनि आव २०७८/७९ कै यथावत राखिएको छ।