पोखारा। शुक्रबार राति परेको अविरल वर्षाका कारण पोखरा महानगरपालिका– २५ हेमजाका ३०० भन्दा बढी घर डुबानमा परेका छन्। वर्षापछि हेमजाको सुइखेतस्थित चौरासी नहर फुटेर पानी बस्तीमा पस्दा सुन्दरीचोक र म्याग्दीचोकका घरहरु डुबानमा परेका हुन्।
यसैगरी पहिराले स्थानीय लक्ष्मी विक र रविना परियारको घर पूर्ण रुपमा क्षति गरेको र थप १५ घर उच्च जोखिममा रहेको बताइएको छ। डुबान र पहिराका कारण ५०० हाराहारीमा मानिस विस्थापित भएका छन्। बस्तीमा बाढी पस्न थालेपछि रातिनै स्थानीयहरु सुरक्षित स्थानतर्फ लागेकाले मानविय क्षति भने हुन नपाएको हो।
भारी वर्षापछि नहर फुटेर बस्तीमा पस्दा र खहरेखोलाहरु उर्लिएर आउँदा घरहरु डुबानमा परेका छन्। पहिराले दुई घर र कृषि र पशुपन्क्षीतर्फ धेरै क्षति पु¥याए पनि मानविय क्षति भने नभएको महानगरपालिकाले जनाएको छ।
घरहरु डुबानमा परेपछि स्थानीयहरुलाई सुरक्षित स्थानमा लगिएको थियो। उनीहरु अहिले विद्यालय, मन्दिर तथा आफन्तकामा आश्रय लिएका छन्। जिल्ला प्रहरी कार्यालयले क्षतिको विवरण सङ्कलन भइरहेकाले यकिन विवरण आउन बाँकी रहेको बताएको छ।
यसैगरी अर्को एक घर पहिरामा झुन्डिएको अवस्थामा रहेको र सो क्षेत्रका ११ घर उच्च जोखिमका कारण अन्यत्र स्थानान्तरण गर्नु पर्ने अवस्था रहेको बताइएको छ। पहिराबाट विस्थापितहरुका लागि आमा समुह र सहकारी भवनको प्रयोग गरिएको छ।