काठमाडौं। काठमाडौं महानगरपालिकाले हैजासम्बन्धी समस्या समाधान गर्न चौबीसै घण्टा हटलाइन टेलिफोन सञ्चालनमा ल्याएको छ। हैजा सम्बन्धी समस्या समाधानमा नागरिकलाई सहज बनाउन कामपाले मंगलबारदेखि २४ घण्टा हटलाइन सेवा सञ्चालन गरेको हो।
काठमाडौंका विभिन्न वडामा हैजाका बिरामी बढ्दै गएपछि महामारीको आशंका गरिएको छ । नागरिकलाई जनस्वास्थ्य सम्बन्धी कुनै समस्या परे ११८० नम्बर फोन गरेर जानकारी लिन सकिने काठमाडौं महानगरका मेयर बालेन शाहले बताए।
जनस्वास्थ्यको सवालमा कामपाले कुनै पनि कुरामा सम्झौता नगर्ने मेयर शाहले बताए। उनले नगरवासीलाई पानी उमालेर मात्र पिउन र खाद्य स्वच्छतामा ख्याल गर्न अपिल पनि गरेका छन् ।
हैजा खानेकुरा र पानीबाट सर्ने भएकाले खानेकुरा तथा पानीको शुद्धतालाई निगरानी गरिनेछ । यसका लागि महानगरले सडकमा खानेकुरा बेच्न नदिन नेपाल प्रहरीसँग सहकार्य गर्ने भएको छ । होटल रेष्टुरेन्टको खाद्य स्वच्छता हेर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई अनुरोध गरिएको छ ।
कामपाले पानीको पाइपलाइन तथा ढल प्रणालीको चुहावट ढल फुटेर पानीमा मिसिएको अवस्था हेर्न र सुधार गर्न काठमाडौं उपत्यका खानेपानी लिमिटेडलाई अनुरोध गरेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा १२ जनामा हैजा पुष्टि भइसकेको छ ।