रुकुम पूर्व। विद्युत् अनियमित हुँदा जिल्लाका उपभोक्ता समस्यामा परेका छन्। पटक–पटक बिजुली गइरहने भएकाले सर्वसाधारण समस्यमा परेका हुन्।
रुकुम पूर्वको सिस्ने र भूमे गाउँपालिकामा जडान भएको दिनदेखि नै नागरिकले विद्युत् सेवाको अनुभूति गर्न पाएका छैनन्। यसका कारण दिनमा व्यापार व्यवसाय प्रभावित छ भने रातमा नागरिक अन्धकारमा बस्न बाध्य छन्। विद्यु्त अनियमित हुँदा व्यवसायी जेनरेटर चलाउन बाध्य भएका छन्।
नेपाल विद्युत प्राधिकरणको लाइन अनियमित हुँदा जेनरेटर प्रयोग गरी व्यवसाय सञ्चालन गर्न बाध्य भएका हुन्। रुकुमकोटमा यस अघि स्थानीय लघु जलविद्युत उपभोग गर्दै आएका थिए भने भूमे गाउँपालिकाको ४ र ५ को साकिम गाउँमा पहिलो पटक केन्द्रीय प्रसारण लाइन जडान गरिएको हो। रुकुम पूर्वमा प्राधिकरणको एक हजार ७७५ घरधुरी ग्राहक छन्।
तर विद्युत् अनियमित हुँदा उपभोक्ताले हैरानी खेप्नु परेको छ। ‘बत्ति कतिखेर आउँछ जान्छ थाहा हुँदैन। झ्याप्प झ्याप्प बत्ती जाँदा दैनिक काम प्रभावित भइरहेको उक्त ठाउँमा सञ्चालित उद्योगले जनाएका छन्।
बत्ती छिनछिनमै आउने जाने हुँदा जिल्ला स्थित कार्यालय र नागरिकलाई सास्ती भइरहेको छ। विद्युत समय–समयमा आउने जाने हुँदा विद्युतीय सामग्री समेत बिग्रिने गरेको यहाँका व्यवसायीको भनाइ छ।
विद्युत् प्राधिकरणले भने अन्य कुनै कारण नभई केही प्राविधिक कारणले बिजुली आउनेजाने भइरहेको बताएको छ। दूरीका हिसाबले टाढा हुनुका कारणले ‘भोल्टेज’ कम हुनुका साथ साथै हावाहुरी र वर्षाका कारणले पोल ढल्दा विद्युत् अनियमिति भइरहेको प्राधिकरण वितरण केन्द्रले जनाएको छ।