काठमाडौं। चक्रपथ विस्तारमा निर्माण गरिने सर्भिस ट्रयाक र कल्भर्टको ठेक्का लगाइएको छ। चक्रपथ सुधार योजनाले चक्रपथ विस्तारमा निर्माण गरिने विधिन्न सर्भिस ट्रयाक र कल्भर्टको लागि ६७ करोडमा ठेक्का लगाएको हो।
ठेक्का पाउने निर्माण व्यवसायीहरुले च्रकपथमा रहेको स्वयम्भू गुम्बादेखि विष्णुमतिसम्म र विष्णुमतिदेखि वसुन्धरासम्मको दुवै पट्टिको सर्भिस लेन निर्माण कार्य गर्नुपर्नेछ। साथै कलंकी चोकदेखि स्युचाटार पुलसम्मको पनि सर्भिस ट्रयाक निर्माण गर्ने कार्य यसैभित्र पर्छ।
स्वयम्भू गुम्बादेखि विष्णुमतिसम्म रहेको दुवै साइडको सर्भिस लेन निर्माण तथा मर्मतको लागि ३५ करोड ६८ लाख रुपैयाँमा वल्र्डवाइड–पीआर–सुशानजेभीले पाएका छन्।
त्यसैगरी विष्णुमतिदेखि वसुन्धरासम्मको सर्मिस ट्रयाक निर्माण तथा मर्मत कार्यको लागि पनि वल्र्डवाइड–पीआर–सुशान जेभीले नै ठेक्का पाएको छ। उक्त निर्माण कम्पनीले दुबै साइडको सर्भिस लेन तथा कल्भर्ट निर्माणको लागि २७ करोड ३९ लाख रुपैयाँमा ठेक्का पाएको हो।
साथै कलंकीदेखि स्युचाटार पुलसम्मको सर्भिस ट्रयाक निर्माणको लागि ६ करोड ४४ लाख रुपैयाँमा सुशान-रेनाइसेन्स जेभीले पाएको छ।
यो सडक विस्तार बहुवर्षिय प्रवृतिको भएका कारण यसको समयावधि एक वर्ष भन्दा धेरै रहेको छ। निर्माण व्यवसायीहरुले १८ देखि २४ महिनामा यसको निर्माणकार्य सम्पन्न गर्नुपर्ने छ।
अहिले नेपाल पक्ष गर्नु पर्ने कामको मात्र अहिले ठेक्का छ। चिनियाँ पक्ष भने साइट क्लियर नभएको भन्दै निर्माण कार्य सुरु गर्न आलटाल गरिरहेको बताइएको छ।