लमजुङ। अबिरल बर्षापछिको बाढीपहिरोले बेंसीसहर–चामे सडक क्षतविक्षत भएको छ। असोज ३१ गते बेलुकादेखि निरन्तर परेको अविरल बर्षाका कारण मनाङ पुग्ने एकमात्र सडकखण्डको ठाउँठाउँमा बाढीपहिरो जाँदा सडक अवरुद्ध भएको हो। बाढीपहिरोले मनाङको सडकखण्डको अस्थायी पुल तथा अस्थायी सडकहरु बगाएको छ। त्यस्तै केही ठाउँमा मस्र्याङ्दीमा आएको बाढीले कटान गरेको छ। स्याल्क्युखोलाको अस्थायी काठे पुल र तिमाङखोलाको अस्थायी काठे पुलमा क्षति पुर्याएको छ।
निरन्तर बर्षा भइरहेकाले तत्काल सडक मर्मत गर्न सम्भव नभएको मनाङ प्रशासनले जनाएको छ। बर्षा भइरहेको समयमा मर्मत कार्य गर्दा झन् जोखिम बढ्न सक्ने भएकाले बर्षा रोकिएपछि मात्र काम थालिने जनाइएको छ। पानी रोकिएपछि एक दिनमा सडक आउजाउ गर्न मिल्ने गरी मर्मत गरिने प्रमुख जिल्ला अधिकारीले बताएका छन्। मौसममा सुधार हुने वित्तिकै धारापानीबाट तालसम्म एउटा जेसिबी, दानाक्यूदेखि तिमाङसम्म एउटा जेसिबी र भ्राताङबाट चामेसम्म एउटा जेसिबी प्रयोग गरी सडक सफा गर्ने योजना रहेको र एकै दिनमा बाटो सुचारु गर्ने बताएका छन्।
हाल बर्षा भइरहेकाले मस्र्याङदीमा बहाव बढ्दा जोखिम हुने भएकाले नासों गाउँपालिका एक ताल क्षेत्रमा जनप्रतिनिधीमार्फत नागरिकलाई सचेत रहन भनिएको छ। मनाङको चामे गाउँपालिकाको कोतो नजिकैको भीर, थान्चोक र तिमाङबीचको ठाउँमा पहिरो खसेको छ। माथिल्लो मनाङ जाने सडक तलेखुको माथिल्लो क्षेत्रमा मस्र्याङ्दी नदीले कटान गरेपछि सडकमा क्षति पुर्याएको हो।
गत जेठ ३१ गतेपछिको भीषण बाढीपहिरोले क्षतविक्षत बनाएको मनाङतर्फको सडक दसैंअघि मात्रै खुलेको थियो। करीब चार महिनापछि खुलेको सडक फेरी बेमौसमी अविरल बर्षाका कारण आएको बाढीपहिरोले पुनःअवरुद्ध बनाएको हो।