काठमाडौं। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले काठमाडौं उपत्यकाका तारहरू भूमिगत गर्ने कार्य भइरहेको र यसले निकट भविष्यमा इन्टरनेट सेवाप्रदायकलाई समस्या पर्न सक्ने बताएका छन्।
शुक्रबार ‘इन्टरनेट सेवा विस्तारमा विद्युतीय पूर्वाधारको योगदान र चुनौति’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै घिसिङले काठमाडौंका असरल्ल तारलाई व्यवस्थापन गर्न पोल हटाएर अबको डेढ वर्षमा तार भूमिगत गर्ने कार्य सम्पन्न गरिने बताएका हुन्।
उनले भने, “काठमाडौंमा भएका सबै विद्युतीय पोलहरू हटाउने भनेर हामी लागिरहेका छौँ। तारहरू भूमिगत भएपछि अबको एकरडेढ वर्ष अथवा अबको छ महिनामै पनि इन्टरनेट सेवा प्रदायकहरूलाई समस्या आउन सक्छ । पोल नै नभएपछि इन्टरनेट सेवा प्रदायकलाई आफ्ना तार व्यवस्थापन गर्न समस्या पर्नसक्छ।”
यद्यपि यो विषयलाई ध्यानमा राख्दै प्राधिकरणले तार भूमिगत गर्दा अप्टिकल फाइबरका लागि डक्ट समेत राखिएको जानकारी घिसिङले दिए । प्राधिकरणले तीन ओटा डक्ट राखेको र एउटा डक्टमा ४८ कोरको फाइबर पनिसँगै राखिएको उनले बताए ।
घिसिङले भने “भोलिको दिनमा आवश्यकता अनुसार त्यसलाई प्रयोग गर्न सकिन्छ भनेर हामीले फाइबर पनि बिच्छ्याएका छौँ । यसलाई कसरी प्रयोग गर्न सकिन्छ अथवा यसको लागि आवश्यक संरचना विकासका लागि पनि सरोकारवालाहरू बसेर छलफल गर्न आवश्यक छ।”