काठमाडौं। विद्युत उत्पादन कम्पनी लिमिटेडले फेवा/आचार्य सयुक्त उपक्रम कम्पनी (जेभी) बागलुङसँग सातदिने लिखित स्पष्टीकरण मागेको छ।
जेभीले कालिकोटमा निर्माणाधीन फुकोट कर्णाली अर्ध–जलाशयुक्त जलविद्युत आयोजना (४८० मेगावाट) को क्याम्प निर्माणको ठेक्का लिएको थियो। तर सम्झौता अनुसार काम नगरेपछि कम्पनीको आधिकारिक प्रतिनिधिलाई स्वयम् स्पष्टीकरणसहित उपस्थित हुन भनिएको हो।
कम्पनीसँग २०७७ साउन ११ गते ठेक्का सम्झौता भएको थियो। पछिल्लो संशोधित तालिका अनुसार २०७९ असार ३० सम्म ठेक्का अवधि छ। तर अहिलेसम्म जम्मा ३७ प्रतिशत मात्रै काम सकिएको छ।
वैशाखदेखि निर्माण कार्य बन्द रहेको सूचनामा उल्लेख छ।
पटक पटक मौखिक तथा लिखित निर्देशन दिँदा समेत काम सुरु हुन नसकेको र लिखित पत्रको कुनै पनि जवाफ समेत प्राप्त नभएको भन्दै प्रचलित कानुन र ठेक्का सम्झौता बमोजिम सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिइएको हो।