काठमाडौं। रामेछाप जिल्ला सदरमुकाम मन्थलीमा निर्माणाधीन १५ शय्याको अस्पताल निर्माणको काम अहिले बन्द छ। यो अस्पतालको आगामी मङ्सिर ३० गते निर्माण सम्पन्न गर्ने म्यादसहित गत वर्ष भदौ १० गते शिलान्यास गरिएको थियो । तर, शिलान्यास भएको १० महिना कटिसक्दा पनि अस्पताल निर्माणको २० प्रतिशत पनि काम सम्पन्न भएको छैन। तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ (भवन) रामेछापमार्फत नौ करोड, ३२ लाख, ५० हजार ९८६ रुपियाँको लागतमा निर्माण गर्ने गरी गत वर्ष जेठ ३० गते गाल्वा–लालशुभ मेन्द्रो जेभी काठमाडौँसँग निर्माण सम्झौता भएको थियो।
तर, निर्माण सम्पन्न गर्नुपर्ने समय सीमा पाँच महिना मात्रै बाँकी रहँदा अस्पताल निर्माण क्षेत्रमा पर्खाल लगाउने र पिल्लरका लागि रड ठड्याउनेबाहेक अरू काम भएको छैन। अस्पताल भवन समयमै निर्माण सम्पन्न गर्न ताकेता गर्दा पनि निर्माण व्यवसायीले नटेरेको मन्थली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लीलाराज पौडेलले बताए। नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको अस्पतालजस्तो संवेदनशील पूर्वाधार निर्माणमा ढिलाइ गरेर निर्माण व्यवसायीले गैरजिम्मेवारीपन देखाएको उनले बताए।
मन्थली अस्पतालसहित अहिले जिल्लाका विभिन्न ठाउँमा गरी २१ वटा स्वास्थ्य संस्थाका भवन निर्माणाधीन छन् । सघन सहरी तथा भवन निर्माण आयोजना रामेछापमार्फत मन्थली नगरपालिका–१२ मा पाँच शøयाको गेलु प्राथमिक अस्पताल निर्माण भइरहेको छ । २०७२ वैशाख १२ गतेको भूकम्प र त्यसपछिका पराकम्पले क्षति भएका जिल्लाको चिसापानी, चनखु, डडुवा, गौश्वरा, पिङ्खुरी, मझुवा, खाँडादेवी र खनियाँपानी स्वास्थ्यचौकी निर्माणाधीन अवस्थामा छन् ।
त्यसैगरी भलुवाजोर, सालु, ओख्रेनी, रामपुर, देउराली, हिमगङ्गा, बिजुलीकोट, तिल्पुङ, दुरागाउँ, चुचुरे र कुवँुकास्थलीमा स्वास्थ्यचौकी भवन निर्माण भइरहेको छ । सघन सहरी तथा भवन निर्माण आयोजना रामेछापका अनुसार २० वटा स्वास्थ्यचौकी भवन भारतीय सरकारको अनुदान सहयोगमा र खाँडादेवी र देउराली स्वास्थ्यचौकी भवन नेपाल सरकारको लगानीमा निर्माण भइरहेको सघन सहरी तथा भवन निर्माण आयोजना रामेछापका प्रमुख सुरेशकुमार वाग्लेले बताउनुभयो । जिल्लाभर निर्माण भइरहेका २१ वटा स्वास्थ्य संस्थाको भवन निर्माणका लागि ४० करोड २० लाख रुपियाँभन्दा बढी लगानी रहेको उनले बताए ।
जिल्लामा स्वास्थ्य संस्थाहरूको निर्माणको गतिप्रति आफू सन्तुष्ट नरहेको उनले बताए। जिल्लामा निर्माण भइरहेको स्वास्थ्य संस्थाहरूको कामको गतिचित्त बुझ्दो छैन, झन् मन्थली अस्पताल निर्माणको काम सुस्त गतिमा छ, काम छिटो गर्न निर्माण कम्पनीलाई ताकेता गरेका छौँ, उनले भने। उनका अनुसार खाँडादेवी र देउराली स्वास्थ्यचौकी निर्माणको काम अन्तिम चरणमा पुगेको छ भने मन्थली अस्पतालबाहेक अन्य स्वास्थ्यचौकी निर्माणमा ६० प्रतिशत भौतिक प्रगति भएको छ। मन्थली अस्पतालको भने १५ देखि २० प्रतिशत मात्रै भौतिक प्रगति भएको उनले बताए। गोरखापत्रबाट