बुटवल। उद्घाटन भएको तीन महिनासम्म पनि सिद्धार्थनगर नगरपालिका वडा नंं ६ को कार्यालयबाट काम सुरु भएको छैन।
भवन निर्माण सम्पन्न नहुँदै हतारमा गत चैत १५ गते उद्घाटन भए पनि अहिलेसम्म नगरपालिकाको भवनबाटै वडाको काम सञ्चालन हुँदै आएको छ।
वडावासी विवेकानन्द मल्लिकले निर्वाचनको मुखमा हतारहतारमा वडा कार्यालय उद्घाटन गरिए पनि तीन महिनासम्म वडावासी नगरपालिकाको भवनमा धाउनुपर्दा सास्ती भएको गुनासो गरे। ‘तीन महिनासम्म सेवा सञ्चालन गर्न नसक्ने भए हतारमा उद्घाटन गर्न किन हतार गरियो ’ मल्लिकको प्रश्न छ। उक्त कार्यालय भवनको निवर्तमान मेयर हरिप्रसाद अधिकारीले उद्घाटन गरेका थिए।
अर्का स्थानीय रामदयाल गुप्ताले दलीय स्वार्थ र आफूले जस लिन काम पूरा नहुँदै उद्घाटन गर्नु गलत प्रवृत्ति भएको बताए।
सिद्धार्थनगर नगरपालिका-६ का वडाअध्यक्ष वीरेन्द्रनाथ श्रीवास्तवले कार्यालय उद्घाटनको समयमा केही प्रतिशत काम बाँकी रहेका कारण नयाँ भवनको उद्घाटन भए पनि काम पुरानै कार्यालयबाट गर्नुपरेको बताए।
उनका अनुसार कार्यालय भवन उद्घाटन गर्दा १० प्रतिशत काम बाँकी नै थियो। हाल झण्डै तीन महिना हुन लाग्दा पनि अन्य काम सकिए तापनि विद्युत जडानलगायतका काम अझै बाँकी रहेको उल्लेख गरे। अनलाईनखबरबाट