काठमाडौं। भरतपुर महानगरपालिका–२२ मा ‘सोल्टी पटिहानी रिसोर्ट’ साउनदेखि सञ्चालनमा आउने भएको छ। पश्चिम चितवनको पटिहानीमा निर्माण सम्पन्न भएको रिभरसाइड रोयल गार्डेन र सोल्टी होटलबीच सम्झौता भएपछि नाम परिवर्तन गरेर सोल्टी पटिहानी रिसोर्ट सञ्चालनमा आउन लागेको हो।
सम्झौतापत्रमा रिभरसाइड रोयल गार्डेनका अध्यक्ष कल्याण जोशी, प्रबन्ध निर्देशक ऋषि न्यौपाने र सोल्टी होटलका तर्फबाट उपाध्यक्ष सुदर्शन चापागाईं र दीपक लेखकले हस्ताक्षर गरेका छन्। सोल्टी होटलले सातवटै प्रदेशमा आफ्नो सेवा विस्तार गरेसँगै पटिहानीको रिसोर्टलाई सोल्टीले १० वर्ष व्यवस्थापन गर्नेगरी लिएको हो।
आइतबार रिसोर्टमा एक कार्यक्रमका बीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो। उपत्यकाबाहिर सोल्टीको नेपालगञ्जमा आफ्नै पाँचतारे होटल विस्तार भइसकेको छ। पटिहानीमा सञ्चालनमा आउने ‘सोल्टी पटिहानी रिसोर्ट’ चारतारेसरहको सुविधा रहेको बताइएको छ।
करिब एक अर्ब लगानीमा बनेको रिसोर्टमा नेपालका २५ जना लगानीकर्ता रहेका छन्। ४० वटा कोठा १२ भिल्लासहितको यो रिसोर्ट पाँच बिघा क्षेत्रफलमा फैलिएको छ। रिसोर्ट निर्माण हुन करिब पाँच वर्ष लागेको छ।
आगामी साउन १ गतेबाट पर्यटकीय सिजनलाई लक्षित गरी रिसोर्टले सेवा थाल्ने तयारी गरेको छ। कोरोनाको कहर सकिएको र पर्यटकीय गतिविधि वृद्धि हुन थालेकाले अब रिसोर्ट सञ्चालन गर्न उपयुक्त वातावरण भएको बताइएको छ।