काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को भवनअघि राखिने चार्जिङ बुल (साँढे) को प्रतिमा निर्माणको ठेक्का रद्द भएको छ। प्रतिमा निर्माण गर्न प्राप्त बोलपत्र योग्य साबित नभएपछि नेप्सेले तत्कालका लागि टेन्डर रद्द गरेको हो।
सञ्चालक समितिको निर्णय बमोजिम गत जेठ ८ गतेदेखि नेप्सेले प्रतिमा निर्माण गर्न टेन्डर आह्वान गरेको थियो। टेन्डरमा आवेदन दिने अन्तिम मिति असार ७ गतेसम्म दुई थान बोलपत्र पेश भएका थिए।
जसमध्ये सार्वजनिक खरिद नियमावली अनुसार ग्राहयता र पूर्णताको परिक्षणमा दुवै सफल नभएपछि नेप्सेले हालका लागि टेन्डर रद्ध गरेको हो। नियमावलीको अनुसार योग्य बोलपत्र पेश नभएसम्म नेप्सेले पुन टेन्डर आह्वान गर्ने जनाएको छ।
नेप्सेका अनुसार ब्रास (पित्तल) को धातुबाट चार्जिङ बुलको मूर्ति निर्माण गरिनेछ। हाल गरिएको प्रारम्भिक अध्ययनअनुसार नेप्से परिसरमा खडा हुने चार्जिङ बुलको ६ फुट अग्लो र ७ फुट लम्बाईको हुनेछ। प्रतिमाको तौल १२०० देखि १३०० किलोको हुने अनुमान गरिएको छ।
साँढेको मूर्ति भद्रकाली प्लाजास्थित नेपाल स्टक एक्सचेन्जको भवन परिसरमा स्थापित गरिनेछ।
स्टक एक्सचेन्चअघि बुलको प्रतिमा स्थापित गर्ने चलन विश्वव्यापीरुपमै प्रचलित छ।