काठमाडौं। विगतको समयमा विद्युत् अभावमा मुलुकमा १८ घण्टासम्म लोडसेडिङ हुन्थ्यो। तर, हाल दैनिक ४ सय मेगावाट विद्युत् यत्तिकै खेर गइरहेको छ। जसको कारणले गर्दा विद्युत प्राधिकरणले मासिक झन्डै साढे दुई अर्ब रुपैयाँ घाटा बेहोरिरहेको भएता पनि विद्युत् प्राधिकरणसँग खेर गइरहेको विद्युत्लाई प्रयोगमा ल्याउने ठोस योजना भने छैन।
त्यस्तै साउन, भदौ र असोजमा रातको समयमा दैनिक ३ सय ५० देखि ४ सय मेगावाटसम्म करिब साढे ७ अर्ब रुपैयाँ बराबर विद्युत् खेर गइरहेको नेपाल विद्युत् प्राधिकरणले जानकारी गराएको छ। विद्युत्को उत्पादन बढे पनि आन्तरिक बजारमा खपतको मात्रा बढ्न सकेको छैन। बाह्य बजारमा निर्यात पनि हुन सकेको छैन। गत साउनबाट ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजना राष्ट्रिय प्रसारणमा जोडिएको पछि विद्युत्को उत्पादन बढेता पनि आन्तरिक बजारमा खपतको मात्रा बढ्न सकेको छैन। त्यस्तै बाह्य बजारमा पनि यसको निर्यात हुन सकेको छैन। त्यसैले हाल विद्युत् खेर गइरहेको छ।
अहिले १ हजार ९ सय ७ मेगावाट विद्युत् उत्पादन भइरहेको भए पनि खपत भने १ हजार ४ सय मेगावाटको हाराहारीमा मात्रै रहेको प्राधिकरण जानकारी गराएको छ। साँझको समयमा विद्युत्को धेरै माग हुन्छ। रातको समयमा भने ८ सय मेगावाट मात्र माग हुने भएको कारण रातिको समयमा धेरै बिजुली खेर गइरहेको प्राधिकरणको भनाई रहेको छ।