काठमाडौं। राजविराज–कुनौली सडक खण्ड निर्माणमा नियमविपरीत ९० लाख रुपैयाँ खर्च गरिएको छ । हुलाकी राजमार्ग आयोजना इटहरीमार्फत निर्माण भइरहेको उक्त सडकमा नियमविपरीत खर्च भएको हो ।
सडकमा प्रोभिजनल आइटममा भेरिएसन गरी ९० लाख रुपैयाँ थप गरेर प्रतिस्पर्धाबेगर नियमविपरीत खर्च गरेको महालेखा परीक्षकको प्रतिवेदन २०७८ ले औंल्याएको छ । सडक निर्माणमा विद्युत्को पोल, खानेपानीको पाइप सार्नेलगायत सानातिना कार्यका लागि प्रोभिजनलसम्ममा ५ लाख व्यवस्था गरेकोमा भेरिएसनबाट ९५ लाख कायम गरेकाले ९० लाख खर्च नियमसंगत नरहेको प्रतिवेदनमा उल्लेख छ ।
हुलाकी राजमार्ग आयोजना इटहरीका प्रमुख सिनियर डिभिजनल इन्जिनियर विजयकुमार थापाले विभागको स्वीकृति लिएर उक्त खर्च गरेको दाबी गरे । इस्टिमेट गर्दा ५ लाख मात्र राखिएको तर विद्युत्को पोल सार्न नेपाल विद्युत् प्राधिकरणले दिएको इस्टिमेट बढी आएपछि विभागको स्वीकृतिअनुसार खर्च गर्नुपरेको उनको भनाइ छ । उक्त सडक निर्माणका लागि सम्झौता अवधि गत चैतमै सकिए पनि अझै पनि काम सकिएको छैन । कान्छाराम कन्स्ट्रक्सनले ४१ करोड ६२ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । ११ किलोमिटर लम्बाइको सडक निर्माण सकिएको कम्पनीले दाबी गर्दै आएको छ ।
सडक निर्माणअन्तर्गत दुई लेयरमा अलकत्रा हालेर गिटी हाली सडक बनाउनुपर्नेमा एक लेयर मात्र बनाइएको छ । ‘डबल विटुविन सर्फेस ट्रिटमेन्ट (डीबीएसटी) अन्तर्गत दुई लेयरमा अलकत्रा हाली गिट्टी हालेर सडक निर्माण गर्नुपर्नेमा दोस्रो लेयरको काम उप्किएको छ,’ थापाले भने, ‘हामीले उप्किएको सडक सुधार गर्न निर्माण कम्पनीलाई भनिसकेका छौं ।’ निर्माण कम्पनीले ८० प्रतिशतभन्दा बढी भुक्तानी लिइसकेको छ । बाँकी भुक्तानीका लागि पनि उसले ताकेता गरिरहेको छ । तर आयोजनाले सडक पुनर्निर्माण नगरेसम्म अन्तिम भुक्तानी दिन नसकिने जनाएको आयोजना प्रमुख थापाले बताए । भारतसित जोड्ने सप्तरीको मुख्य नाका कुनौली सडक वर्षौंदेखि जीर्ण थियो । तर, निर्माण समपन्न नहुँदै उप्किन थालेपछि स्थानीयले कामको गुणस्तरमा प्रश्न उठाएका छन् ।कान्तिपुरबाट