काठमाडौं। काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीमा इनार खन्दा निस्किन थालेको मिथेन ग्याँस १७ घण्टापछि रोकिएको छ। मंगलबार बिहानदेखि निस्किएको मिथेन ग्याँससहितको लेदा आज बिहान मात्र रोकिएको हो।
आज बिहान ३ बजेदेखि ग्याँससहितको बालुवा र माटोको मुस्लो निस्किन बन्द भएको नगरपालिकाका मेयर दीपक रिसालले जानकारी दिए । त्यहाँ ट्यांकर पठाएर सरसफाइ गर्न थालिएको छ।
लोसेटारस्थित सन्त कुमार लामाको घरमा बोरिङ खन्ने क्रममा मंगलबार बिहान १० बजेदेखि ग्याँससहित माटो र पानीको फोहोरा निस्किएको थियो ।
ग्याँस निस्किएको सूचना पाएपछि भूगर्भविदको टोलीले स्थलगत अनुगमन गरेको छ । भूगर्भविदको टोलीले त्यहाँ ८ देखि १३ प्रतिशतसम्म मिथेन ग्याँस रहेको बताएको छ। आगलागीको जोखिम हुन सक्ने भएकाले त्यहाँ रातिसम्मै सेना र प्रहरी परिचालन गरिएको थियो।