काठमाडौं। नेपालमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुँदा देशको राजस्वमा पनि वृद्धि भएको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धिले उपभोक्ता मारमा परेका भए पनि सरकारले प्राप्त गरेको राजस्व भने बढेको हो।
पेट्रोलियम पदार्थको मूल्यका आधारमा लिइने विभिन्न कर, महसुल र शुल्क लिने भएकाले सरकारको राजस्व सङ्कलन बढेको हो । आव २०७८र७९ मा सरकारले पेट्रोलियम पदार्थको आयातबाट एक खर्ब २० अर्ब छ करोड रुपियाँ राजस्व प्राप्त गरेको छ । यो अहिलेसम्मकै धेरै हो ।
यो आर्थिक वर्ष नेपाल आयाल निगमले तीन खर्ब १० अर्ब रुपियाँ बराबरको ३१ लाख ८९ हजार ७१६ किलोलिटर पेट्रोलियम पदार्थ आयात गरेको थियो । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेका कारण अघिल्लो वर्षको तुलनामा दोब्बर रकमको पेट्रोलियम पदार्थ आयात भएकाले राजस्व सङ्कलनमा वृद्धि भएको निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहले जानकारी दिए ।
आव २०७८/७९ मा पेट्रोलियम पदार्थ आयात गरेर सबैभन्दा धेरै भन्सार शुल्क ४२ अर्ब ९३ करोड रुपियाँ सङ्कलन भएको छ । यस्तै पूर्वाधार विकास करमा २४ अर्ब ५३ करोड रुपियाँ र मूल्य अभिवृद्धि करमा ४२ अर्ब ५४ करोड रुपियाँ सङ्कलन भएको निगमको तथ्याङ्क छ । सडक मर्मत दस्तुर छ अर्ब ३८ करोड र वातावरण शुल्क तीन अर्ब ६८ करोड रुपियाँ सङ्कलन भएको छ । गाेरखापत्रबाट