काठमाडौं। प्रतिनिधिसभा बैठकमा सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोगको प्रस्तावमाथि छलफल हुने भएको छ। आज (आइतबार) बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा निलम्बित जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल हुने भएको हो।
सङ्घीय संसद सचिवालयले प्रकाशन गरेको सम्भावित कार्यसूचीमा जबरामाथिको महाअभियोगबारे छलफल हुने उल्लेख छ। कार्यसूचीको बुँदा नम्बर ४ मा ‘‘मिति २०७८ फागुन २९ गतेको बैठकमा सांसद देवप्रसाद गुरुङले नेपालको संविधानको धारा १०१ को उपधारा २ एवम् प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १६१ को उपनियम १ बमोजिम प्रस्तुत गर्नुभएको प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल हुने।’’ उल्लेख छ।
सर्वोच्चका प्रधानन्यायाधीश जबराविरुद्ध फागुन १ गते महाभियोग दर्ता भएको थियो। सो प्रस्तावमा सांसदहरू पुष्पा भुषाल, देव गुरूङ् र जीवनराम श्रेष्ठले हस्ताक्षर गरेको थिए। महाभियोग दर्तासँगै प्रधानन्यायाधीश स्वतः निलम्बन हुने व्यवस्था छ।
त्यसयता महाअभियोगको प्रस्तावमाथि छलफल अघि बढ्न सकेको थिए । यद्यपि, भोलि बस्ने बैठकमा छलफल हुने उल्लेख छ। यसअघि २०७४ साल वैशाख १७ गते तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीविरूद्ध महाभियोगको प्रस्ताव दर्ता भएको थियो।
त्यस्तै, बैठकमा सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाउने र प्रधानमन्त्री शेरबहादुर देउवाले महालेखा परीक्षकको ५९ औं वार्षिक प्रतिवेदन बुझाउनेलगायतका कार्यसूची रहेको छ।