पोखरा। राष्ट्रपति विद्यादेवी भण्डारीले पोखरामा सन्चालित अन्नपूर्ण केवलकारको अवलोकन भ्रमण गरेकी छन्। आज मंगलबार पोखरामा हुने गुरुङ समुदायको सांस्कृतिक पर्व ट्होँटे र विन्द्य्यबासिनी मावि बाटुलेचौरको रजत जयन्ती समापन समारोहमा सहभागि हुन सोमबार पोखरा गएकी राष्ट्रपति भण्डारीले पोखराको नया प्रोडक्टको रुपमा रहेको अन्नपूर्ण केवलकारको अवलोकन भ्रमण गरेकी हुन्।
अन्नपूर्ण केवलकारको अवलोकन भ्रमण गर्न राष्ट्रपति भण्डारी साँझ करीब ५ बजे सेदीस्थित केवलकार कार्यालय पुगेकी थिईन्। त्यहाँ करीब आधा घण्टा बिताएकी राष्ट्रपति भण्डारी केवलकारमा चढेर सराङकोटसम्म पुगेर फर्किएको अन्नपूर्ण केवलकार प्रालिका प्रबन्ध निर्देशक दीनेश पौडेलले जानकारी दिए। उनका अनुसार राष्ट्रपति भण्डारीले सराङ्कोटमा केहिबेर टहलिदै हिमश्रृङ्खला, फेवातालसँगै पोखरा सहर नियालेकी थिईन्।
राष्ट्रपतिले केवलकारको अवलोकन भ्रमण गर्दा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलगायतकोपनि उपस्थिति रहेको थियो। मेयर आचार्यको जोडबलमा राष्ट्रपति भण्डारी पोखराको नया प्रोडक्ट अन्नपूर्ण केवलकारको अवलोकनका लागि पुगेको प्रबन्ध निर्देशक पौडेलले बताए। राष्ट्रपतिलाई भ्रमण गराएर पोखरामा पर्यटनको क्षेत्रमा नया प्रोडक्ट थपिएको सन्देश देश तथा विदेशमा पु¥याउने आफूहरुको उद्देश्य पूरा भएको पौडेलले बताए।