सुनसरी । बेमौसमी वर्षाका कारण सुनसरी मोरङ सिँचाइ आयोजनामा ठूलो क्षति पुगेको छ । गत कात्तिक १ र २ गतेको वर्षाका कारण सुनसरी मोरङका नहरका संरचना भत्किएर ठूलो क्षति पुगेको हो ।
नहरका संरचना भत्किएर तत्काल पानी सञ्चालन गर्ने अवस्था समेत नरहेको आयोजना प्रमुख भिलानन्द यादवले बताए ।
सुनसरीको चतरादेखि मोरङसम्म ५३ किमी लम्बाइ रहेको चतरामूल नहरको २० शाखामा १४ वटा स्थानमा फुटेको छ । मूल नहरकै चार ठाउँ सुनसरीको झुम्कादेखि पश्चिम ६५, ६३, सुनसरीको खनारस्थित ११४ र बडहरास्थित १२८ आरडी भत्किएको छ । यसको तत्काल मर्मत गर्न सम्भव नहुने बताइएको छ ।
वर्षाले क्षति पुर्याएको यो नहर पूर्णरुपमा निर्माण गर्न १० करोड भन्दा बढी लागत लाग्ने छ । त्यस्तै तत्काल पानी सञ्चालन गर्ने अवस्थाको बनाउन पनि पाँच करोडको लागत लाग्ने प्रारम्भिक अनुमान रहेको इञ्जिनियर रामकुमार चौधरीले जानकारी दिए ।
तत्काल मर्मत गर्न सम्भव नभएका कारण आउँदै गरेको छठ पर्वको पूजाका लागि समेत नहरमा पानी नहुने भएको छ । यसै नहरका विभिन्न स्थानमा भव्यताका साथ छठ पूजा हुने गरेको थियो ।
नहर बनाउन समस्या भएपछि अब गहुँ बालिका लागि समेत सिँचाइ गर्न समस्या हुने भएको छ । वर्षाले धानबाली नष्ठ बनाएर थलिएका किसानलाई नहर भत्किएर तत्काल निर्माण नहुने भएपछि गहुँ बालीका लागि सिँचाईको समस्या हुने भएको छ ।