पाँचथर। तमोर करिडर सडक आयोजनाअन्तर्गत धनकुटाको मूलघाटदेखि पाँचथरको गणेशचोकसम्म कालोपत्र प्रक्रिया सुरु भएको छ ।
संघीय सरकारको गौरवको आयोजनामध्ये यस आयोजनाको मूलघाट–गणेशचोक खण्डको १ सय १० किलोमिटर सडक कालोपत्र गर्न सुरु गरिएको हो।
सडक कालोपत्र गर्न ५ अर्ब ७६ करोड रुपैयाँ नबढ्ने गरी बोलपत्र आह्वान गरिएको छ। तमोर नदीको किनारैकिनार खनिएको यो सडकले सुनसरी, मोरङ, धनकुटा, तेह्रथुम, पाँचथर र ताप्लेजुङलाई जोड्छ । तीन वर्षभित्र कालोपत्र सम्पन्न गर्ने योजनासहित ठेक्का आह्वान गरिएको कार्यालयले जनाएको छ । भदौ १८ सम्म समयसीमा दिएर आह्वान गरिएको सूचनामा परेको बोलपत्रको मूल्यांकन गरी तत्काल सम्झौता अगाडि बढाउने तयारी कार्यालयको छ ।
पहिलो चरणमा उक्त करिडरको गणेशचोक (फेदापा) सम्मको १ सय १० किलोमिटर सडक कालोपत्र गर्न लागेको हो । यीमध्ये मूलघाटदेखि सुभाङखोलासम्म यस अघि नै ग्राभेल भइसकेको छ भने सुभाङखोलादेखि लिम्बुनी पुल हुँदै ताप्लेजुङको ओलाङचुङगोलासम्म ग्राभेल गरिँदै छ । उक्त सडक खण्डका विभिन्न सात स्थानमा मोटरेबल पुल निर्माण गर्न कार्यालयले यसअघि नै ठेक्का सम्झौता गरिसकेको नेपालीले बताए । ताप्लेजुङको ओलाङचुङगोलादेखि सुनसरीको चतरासम्म जोड्ने यो करिडरको लम्बाइ २ सय ३८ किलोमिटर छ । २०६५ मा निर्माण थालिएको यो सडक मुलुकलाई उत्तर–दक्षिण जोड्ने द्रुत मार्ग हो ।