कास्की। पोखरा महानगरपालिकाले आफ्नै स्वामित्वमा रहेका दुईओटा भवनमा डोजर चलाएको छ । पोखरा–९ महेन्द्रपुलस्थित महानगरको भवन भत्काउन बिहीवार डोजर चलाइएको हो ।
प्रमुख धनराज आचार्य, वडा नं ९ का अध्यक्ष दीपेन्द्र मर्सानी र नगर प्रहरीसहितको टोलीले भवनका सटर भत्काउन शुरू गरेको हो । महेन्द्रपुलबाट रानीपौवा जाने सडकको वारिपारि रहेका सार्वजनिक पुस्तकालय र आर्ट ग्यालरी रहेका दुई तलाका भवन भत्काएर सार्वजनिक उद्यान बनाउने योजना महानगरको छ ।
महानगरले दिउँसो ट्राफिक जाम हुने भएकाले रातको समयमा भवन भत्काएर खाली गर्ने बताएको छ ।महानगरका यी दुई दुई भवन ४० वर्षअघि निर्माण गरिएका थिए । भवनका तला–तलामा ३० सटर महानगरले भाडामा लगाए पनि नियमित भाडा नउठेको र बिचौलियाले फाइदा लिएको महानगरको भनाइ छ ।
भाडामा लगाइएका सटर हटाउन महानगरले सात दिनको दुई पटक र पुन: ३५ दिने सूचना दिएर आग्रह गरेको थियो । सूचनाको म्याद सकिएको भोलिपल्ट डोजर चलाउन शुरू गरिएको हो ।
वडाध्यक्ष मर्सानीले भवनमा व्यापार व्यवसाय गर्दै आएका व्यापारी र अन्य प्रयोजनका लागि बसेका सबैलाई त्यहाँबाट हट्न सार्वजनिक सूचना जारी प्रक्रिया पूरा गरेर भत्काउन शुरू गरिएको बताए । महानगरले भवन हटाएपछि भवनले चर्चेको जमीनमा सार्वजनिक पार्क र सार्वजनिक शौचालय निर्माण गर्ने योजना रहेको उनले बताए । ‘भवन हटाएपछि यसले चर्चेको जमीनमा पोखराको सौन्दर्य वृद्धि गर्ने गरी पार्क र सार्वजनिक शौचालय निर्माण गर्नेछौं,’ उनले भने ।
महानगरले पुस्तकालय र ग्यालरीका लागि भने पृथ्वीचोकस्थित साविकको ट्राफिक भवन भएको स्थानमा भवन बनाउने भएको छ । पृथ्वीचोकमा बन्ने भवनका लागि रू दुई करोड लाग्ने अनुमान गरिएको छ ।