तनहुँ। बन्दीपुर गाउँपालिका–२ मा ‘मिनी ग्रेटवाल’ निर्माण सम्पन्न भएको छ। थानीमाई मन्दिरबाट सुरु भई मुकुन्देश्वरीदेखि भञ्ज्याङ चौतारी बाघस्थलसम्मको ‘मिनी ग्रेटवाल’ निर्माण कार्य सम्पन्न भएको हो।
गाउँपालिका कार्यालयलका अनुसार चीनको जस्तै झझल्को दिने गरी निर्माण गरिएको मिनी ग्रेटवाल निर्माण कार्यमा हालसम्म ७४ लाख खर्च भइसकेको छ। बन्दीपुर गाउँपालिका कार्यालयले एक करोड खर्च गरी थालिएको मिनी ग्रेटवाल पर्यटकको पहिलो आर्कषण बन्ने विश्वास गरिएको छ।
प्राकृतिक दृश्य अवलोकन र सुन्दरताका कारण ‘पहाडकी रानी’ उपनामले प्रसिद्ध कमाएको बन्दीपुरमा करिब दुई किलोमिटर दूरीको ‘मिनी ग्रेटवाल’ निर्माण गर्न लागिएको हो। कूल लागत रु सात करोड रहेकाले बहुवर्षीय कार्यक्रमअन्तर्गत योजनाअनुरुप निर्माण कार्य अघि बढाइएको बताइएको छ। नेपाल सरकारको चार करोड ५५ लाख र बन्दीपुर गाउँपालिकाको दुई करोड ४५ लाख रुपैयाँ साझेदारी रहेको सो गाउँपालिकाले जनाएको छ।
उक्त विनियोजित बजेटले पर्खाल निर्माण गर्ने, पार्क, कफी शप, होटललगायत संरचना निर्माण गर्ने योजना छ। दुईतिर वाल लगाउने र बीचमा आर्कषक सिँढी निर्माण गरी दायाँबायाँ आर्कषण बत्ती जडान गर्ने योजना रहेको छ। मुकुन्देश्वरी डाँडा तत्कालीन राजा मुकुन्द सेनले शासन गरेको किंवदन्ती रहेको पाइन्छ। मिनी ग्रेटवालभित्र रहेको पदमार्गमा घोडाबाट र साइकलबाट सवार गर्न सकिने छ।