बागलुङ । १ करोड २५ लाख रुपैयाँ लागत स्टिमेट गरिएको टिमुरोला कुश्मीसेरा सिँचाइ आयोजना निर्माण कार्य शुरु भएको १८ वर्ष पुग्दा पनि पूरा भएको छैन् । नहर निर्माणका लागि योजना छनोट भएको झन्डै १८ वर्षसम्म यो आयोजनाको काम आधा पनि नसकिएको हो ।
योजनाअनुसार काम शुरु भए पनि लामो समय बजेट नआएको र आएपनि थोरै थोरै आएकाले काम अघि बढाउन नसकिएको उपभोक्ता समितिले जनाएको छ । वर्षमा पाँच–दस लाख रुपैयाँ मात्र बजेट आउने गरेको भन्दै समितिका एक सदस्यले भने ‘धेरै वर्ष बजेट पाइएन अहिले प्रदेश सरकारले पठाएको रकमबाट काम गर्दै छौं ।’
उनका अनुसार गण्डकी प्रदेश सरकारले दुई वर्षअघि २५ लाख, गत वर्ष ३५ लाख र चालु वर्ष १५ लाख रुपैयाँ मात्रै विनियोजन गरेको छ ।
यो नहर बन्दा यहाँको ५१ हेक्टर जमिन सिञ्चित हुने थियो । तर नहर नबन्दा यो पुरै जमिन आकाशे पानीको भर पर्नु परेको स्थानीयको गुनासो छ । यहाँ सिँचाइ नहुँदा वर्षातको भर परेर धान रोपिन्छ भने हिउँदमा किसानलाई खेत बाँझै राख्नुपर्ने बाध्यता छ ।