काठमाण्डौं। सोलु करिडोर १३२ केभी प्रसारण लाइनको काम चाँडै सम्पन्न हुने भएको छ। आठौँ पटक म्याद थप भएको आयोजनाको काम अबको दुई महिनाभित्र सम्पन्न हुने आयोजना प्रमुख जर्नादन गौतमले बताए।
एक वर्षमा तीन पटकसम्म म्याद थप गरिएको भन्दै प्रमुख गौतमले अब चाँडै सम्पन्न हुने विश्वास व्यक्त गरे। उदयपुरको मरुवा र सोलुखुम्बुको पत्तालेका प्रभावित स्थानीय जग्गाधनीको अवरोधका कारण आयोजनाको काम रोकिएको थियो। जिल्लामा देखिएको समस्या समाधानका लागि स्थलगत अनुगमनदेखि जग्गाधनीसँगको बारम्बार संवादपछि अवरोध हटेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेशविक्रम शाहीले बताए।
अवरोध हटेसँगै पत्ताले क्षेत्रमा बाँकी रहेको दुई किलोमिटर तार तान्ने काम सम्पन्न भएको प्रजिअ शाहीको भनाइ छ। सिरहाको मिर्चैयादेखि सोलुखुम्बुको तिङ्लासम्म ९० किलोमिटर दूरीमध्ये अब १८ किलोमिटर तार तान्ने काम बाँकी रहेको आयोजनाले जनाएको छ।
नेपाल सरकारको गौरवको आयोजना हुनका साथै जिल्लामा उत्पादन भएको विद्युत् खेर जानबाट रोक्न सक्दो प्रयास गरी जिल्लाको समस्या समाधान गरेको सोलुखुम्बुका सङ्घीय सांसद हेमकुमार राई शुरवीरले बताए। जम्मा ३०२ वटा टावर निर्माण गर्नुपर्नेमा २९८ वटा सम्पन्न भएको आयोजनाले जनाएको छ।
ऐलानी जग्गाको मुआब्जा दिनुपर्ने अडान राखेका त्यहाँका स्थानीयवासीले सर्वोच्चमा रिट निवेदन दर्ता गराएका थिए। ऐलानी जग्गाको मुआब्जा दिनेसहितको सूचना सार्वजनिक भए पनि बुझ्न आउनुको सट्टा अदालतमा जाँदा विलम्ब भएको प्रमुख गौतमले बताए ।
अदालतको आदेशपछि मरुवा क्षेत्रमा ठूलो सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरी काम सुरु गरिएको थियो । चार वटा टावर निर्माण गर्नेस्थलमा भने धानबाली भएकाले काम स्थगित गरी बाली उठाउने समय मागिएको थियो। सन् २०१६ सेप्टेम्बर २५ मा ३० महिनाभित्र काम सम्पन्न गर्ने गरी आयोजनाको काम सुरु गरेको भए पनि सामुदायिक वन क्षेत्रको रुख कटानसम्बन्धी नीतिगत जटिलता तथा स्थानीयवासीको अवरोधका कारण ढिला भएको आयोजनाले जनाएको छ।