काठमाडौं। निर्माणाधीन नागढुंगा सुरुङमार्गको भौतिक प्रगति हालसम्म ४२ प्रतिशत मात्र भएको छ। आयोजना सम्पन्न गर्नुपर्ने समय सकिन एक वर्षभन्दा कम समय बाँकी रहँदा सुरुङमार्गको भौतिक प्रगति ४२ प्रतिशत मात्र सम्पन्न भएको हो। आयोजनाको बित्तिय प्रगति भने ४७ प्रतिशत पुगेको आयोजनाले जनाएको छ।
सडक विभाग र जापानिज निर्माण कम्पनी हाजमा एन्डो कर्पोरेसनबीच भएको सम्झौताअनुसार अप्रिल ०२३ भित्र आयोजना निर्माण सम्पन्न गर्नुपर्नेछ । तर, बीचमा कोरोनाका कारण काम नभएपछि ८६ दिन म्याद थपिएको थियो । थपिएको समयअनुसार जुलाई ०२३ भित्र उक्त आयोजना बनिसक्नुपर्नेछ । तर हालसम्म आधा पनि काम नभएका कारण त्यस अवधिमा आयोजना निर्माण नसकिने पक्का भएको छ।
सुरुङमार्ग डिसेम्बर ०२० देखि निर्माण कार्य सुरु भएको थियो । काम सुरु गरेको ४२ महिनामा निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता थियो । कोरोनाका कारण त्यसमा ८६ दिन म्याद थप भइसकेको छ । तर, अहिले समयमै नसकिने भन्दै निर्माण कम्पनीले थप आठ–नौ महिना समय मागेको आयोजनाले जनाएको छ।
विशेष गरी सुुरुङमा पहिरो जाने समस्याका कारण निर्माणमा ढिलाइ भएको पनि आयोजनाले जानकारी दिएको छ।