काठमाण्डौं। स्याङ्जाको कालीगण्डकी गाउँपालिका ७ मिर्मीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजनाले दैनिक ९६ मेगावाट विद्युत् उत्पादन गर्दै आएको छ। दसैँ तिहारको चाडवाडका समयमा उद्योग धन्दा तथा कलकारखाना पूरै नचल्ने र उत्पादित विद्युत् खपत नहुने भएकाले यही समयमा मर्मतकार्य गरिएको कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजना मिर्मीका प्रमुख पशुपतिराज गौतमले जानकारी दिए ।
स्याङ्जा मिर्मीस्थित कालीगण्डकी ‘ए’ मा ९६ मेगावाट विद्युत् उत्पादन
“समय–समयमा मेसिन मर्मत गर्नुपर्नेरफेर्नुपर्ने हुन्छ” उनले भने , “अन्य बेलामा मर्मत गर्दा विद्युत् अभाव समस्या हुने भएकाले अहिले खपत नहुने समयमा मर्मत गर्दा उपभोक्ता तथा उद्योग, कलकारखानालाई सहज हुने गरि चाडवाडको मौकामा मर्मत गरेका हौंँ” । दसैँ बिदामा पाँच दिनसम्म उत्पादन पूरै बन्द गरेर मर्मत गरिएको उनले जानकारी दिए । दुईवटा टर्वाइनको मर्मत सकिएको र बाँकी रहेको एउटा टर्वाइनसहित अन्य मर्मत कार्य तिहारपछिसम्म चल्ने उनले बताए ।
कालीगण्डकी नदीमा पानीको सतह बढेकाले अहिले बाँधमा रहेका सबै ढोका खुल्ला गरिएको छ । “दुई वटा टर्वाइन चलाउन ९४ मिटर क्यूब प्रतिसेकेण्ड पानी आवश्यक पर्छ” उनले भने , “अहिले नदीमा पानीको बहाव एक हजार दुई सय मिटर क्यूब प्रतिसेकेण्ड रहेको छ ।” नदीको पानीको बहाव बढी रहेकाले कात्तिकको अन्तिम सातातिर मात्र ढोका बन्द गरिने उनले बताए ।
बाँध थुनेसँगै नदीमा सात किलोमिटर लामो जलाशय बन्ने र सोही जलाशयमा स्टिमर सेवा सञ्चालन हुँदै आएको छ । वर्षाका कारण अहिले रोकिएको जलयातायात सेवा नदीमा पानीको सतह घट्नासाथै पुनः सुरु हुन्छ । स्याङ्जाको मिर्मी ९आँधीमुहान० देखि स्याङ्जा, पर्वत र गुल्मीको सङ्गलमस्थलमा स्थित धार्मिक एवं पर्यटकीयस्थल सेतीवेणी शीलासम्म जलयातायात सञ्चालन हुँदै आएको छ । आँधीमुहानदेखि सेतीवेणी शीलासम्म जलयातायात मार्फत पुग्न झण्डै ३० मिनेट लाग्दछ ।