आइतबार राति म्याग्दीको लुलाङस्थित दरखोलामा आएको बाढीले दोस्रो दरखोला लघुजलविद्युत् आयोजना बगाएको छ । उक्त बाढीले ४२ किलोवाट क्षमता रहेको आयोजनाको नहर तथा पावरहाउस सबै बगाएको प्रहरीले जनाएको छ ।
गएराति आएको बाढीले आयोजना बगाएको भनि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरेन्द्र गुरुङले जानकारी दिनुभयो । गुरुङको अनुसार बाढीले जलविद्युत आयोजना डुवाएको भनेर गाउँपालिकाका अध्यक्षले खबर गरेपछि प्रहरी टोली पठाएइको हो ।
दुई वर्षअघि मात्र गाउँपालिकाको ६० लाख, वैकल्पिक ऊर्जाको ८६ लाख र बाँकी स्थानीय श्रमदान गरी कुल १ करोड ५२ लाख लागतमा लघुजलविद्युत् आयोजना निर्माण भएको गाउँपालिका अध्यक्ष थमसरा पुनले बताउनुभयो ।
सोही खोलाको बाढीले ८ वर्षअघि पनि लम्सुङ बस्ती नजिकको परियोजना पूर्ण रूपमा बगाएपछि पुन एक किलोमिटर माथि सारिएको थियो । आइतबारको बाढीले उक्त आयोजना बगाएपछि दुर्गम बस्ती लुलाङका ३ सय ७८ घरधुरी अन्धकार भएको छ ।