म्याग्दी । मालिका गाउँपालिका–६ रातोढुंगाको दरवाङ सबस्टेसन निर्माणको काम पाँच वर्ष बितिसक्दा पनि सकिएको छैन । ए टु जेड इन्जिनियरिङलाई सन् २०१८ डिसेम्बरभित्र सक्नेगरी सन् २०१६ मा ८ करोडमा ठेक्का दिइएको सबस्टेसन निर्माणको काम अझै नसकिएको हो ।
३३/११ केभीए सबस्टेसन निर्माण ठेकदारको लापरवाही र ढिलासुस्तीले २ वर्षदेखि अलपत्र अवस्थामा छ । मंगला, मालिका र धौलागिरी गाउँपालिका क्षेत्रमा केन्द्रीय प्रशारण लाइनको विद्युत आपूर्ति सहज बनाउन निर्माण शुरु गरिएको सबस्टेटसनको काम अझै नसकिँदा सर्वसाधारण भने समस्यामा परेका छन् ।
दैनिक पटक पटक विद्युत काटिने समस्याले सर्वधारण हैरान बनेका छन् । हाल मिलनचोक सबस्टेसनबाट संञ्चालित ११ केभिए फिडर लाइनले ८० किलोमिटर टाढासम्म करिब सय वटा सानाठूला ट्रान्सफर्मरको लोड बोक्ने हुँदा बारम्बार समस्या आउने गरेको हो ।
मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले आफूहरुले पटक–पटक सरोकारवालाको ध्यानाकर्षण गराएको बताए । उनले आफूले प्रदेश सरकार मातहत रहेको यस सबस्टेसनको कामको बारेमा मुख्यमन्त्रीदेखि विभागीय मन्त्री, सचिवलाई जानकारी गराए पनि सुनुवाइ नभएको गुनासो गरे ।