लमजुङ ।पहिरोले अवरुद्ध बेसीसहर–चामे सडक पुनः सञ्चालन भएको छ । गत कात्तिक २ गते पहिरो गएर अवरुद्ध भएको सडक मर्मतपछि सञ्चालनमा आएको हो ।
तिमाङ झरनामा पुल निर्माण भएपछि मनाङभर सडक पुनः सञ्चालन भएको छ । तिमाङ झरनाको पुल मर्मत सम्पन्न भएसँगै बेसीसहर(चामे)खाङसार सडक पूर्णरूपमा सुचारू भएको जिल्ला प्रसाशन कार्यालय मनाङले जनएको छ ।
बाढीपहिरोले चामे गाउँपालिकाको कोतो नजिकैको भीर, थान्चोक र तिमाङबीचको खोला, स्याल्क्युखोलाको अस्थायी काठे पुल, तिमाङखोला, बगरछाप एक्लेभट्टि, खोत्रो, निगालाघारी लगाायत १२ ठाउँमा क्षति पुर्याएको थियो ।
बाढीपहिरोले क्षति पुर्याएको ठाउँमा मर्मत गर्नुका साथै खोला तथा खोल्सीमा अस्थायी काठेपुल निर्माण गरी आउजाउलाई सहज बनाएको प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले जानकारी दिए ।जिल्लास्थित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय जनप्रतिनिधिले बाटो खुलाउन भूमिका निर्वाह गरेका थिए । प्रजिअ आचार्यका अनुसार भ्राताङभीर साथै भ्राताङ र तलेखुबीचको सडकमा विस्फोटक पदार्थ प्रयोग गरी सडक मर्मत गरिएको थियो ।
अहिले माथिल्लो मनाङमा नेपालको जुनसुकै ठाउँबाट सीधै आउन सकिन्छ ।