काठमाडौं। नेपालीका लागि विद्युतीय चुलोमा खाना पकाउन अब सहज हुने भएको छ। विद्युत अभाव र महँगो महसुल रहेको अवस्थामा हालै माथिल्लो तामाकोसीलगायतका आयोजना नेपाल विद्युत प्राधिकरणको प्रणालीमा थप भएपछि वर्षायाममा मुलुक बिजुलीमा आत्मनिर्भर भएको छ।
मुलुक बिजुलीमा आत्मनिर्भर भएसँगै अब मागअनुसार बिजुली उपलब्ध हुने अवस्था सिर्जना भएको छ। प्रणालीमा झन्डै दुई हजार मेगावाट बिजुली उपलब्ध भएका सन्दर्भमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीले विदेशी ग्यास छाड्ने र स्वदेशी बिजुली उपभोग गर्ने योजना अगाडि सारेकी हुन्। झण्डै रु ४० अर्ब बराबरको खाना पकाउने एलपी ग्यास आयात हुने गरेको नेपाल आयल निगमको विवरण रहेका छ।
शुक्रबार त निगमले एलपी ग्यासको मूल्य वृद्धि गरेर प्रतिसिलिन्डर रु एक हजार ५०० पुर्याएको छ। तर अझै पनि ग्यासमा प्रतिसिलिन्डर ४६१ रुपियाँ २२ पैसा घाटा रहेको निगमका सहायक प्रवक्ताको भनाइ रहेको छ। यही विषम परिस्थितीलाई ध्यान दिएर सरकारले खान पकाउनका लागि विद्युतीय चुलोको बढावा दिन यस पटक बिजुलीको महसुलमा रणनीतिक परिवर्तन गरेको हो।
त्यस्तै विद्युत नियमन आयोगका अध्यक्षका अनुसार सरकारको नीति तथा कार्यक्रम र योजनाअनुसार नै आयोगले विद्युतीय चुलोको प्रयोग बढोस् भन्ने ध्येयका साथ महसुलमा छुट दिइएको हो।