बारा । जिल्लाको बालगंगा खोलामा निर्माणाधीन पुलविरुद्ध स्थानीयले मुद्दा हालेका छन् । खोलाको बहावभन्दा विपरीत दिशामा पुल निर्माण गरी आफ्नो जग्गामा खोला फर्काउने काम गरेको भन्दै स्थानीयले अदालतमा मुद्दा दायर गरेका हुन् ।
स्थानीयले अदालतमा मुद्दा दायर गरेपछि पुल निर्माण कार्य अलपत्र परेको छ । यहाँ पुल निर्माण गर्न सडक डिभिजन कार्यालयले २०७२ सालमा काठमाडौं अक्षय निर्माण सेवासग सम्झौता गरेको थियो ।
२०७८ असार १३ गतेसम्म अन्तिम म्याद रहेको यो पुलको ठेक्काको म्याद सकिसकेको छ । तर पुल निर्माण अधुरै छ । झण्डै १२ करोड रुपैयाँको लागतमा खोलामा निर्माणाधीन यो पुल एकातिर छ भने खोलाको धार अर्कैतिर छ । आफ्नो खेतमा खोलाको धार पार्न खोजेको भन्दै स्थानीयको मुद्दामा उच्च अदालतको आदेशले निर्माणको काम रोकिएको हो ।
८५ प्रतिशत काम सकिएको यस पुलको डिजाईनमै प्राबिधिक गडबडि गरेको भन्दै अदालतमा सडक डिभिजन कार्यालयले मुद्दा खेपिरहेको छ । पुलको निर्माण समयमा नहुँदा सडक प्रयोगकर्ताले निकै सास्ती खेप्नुपरेको छ ।