काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले डोटीका भूकम्प पीडितलाई तत्काल उद्धार र राहतको व्यवस्थापन गर्न निर्देशन दिएका छन्। प्रधानमन्त्री देउवाले भूकम्प प्रभावित क्षेत्रमा तत्काल राहत र उद्धारमा खटिन सम्बन्धित निकायलाई निर्देशन दिएका हुन्।
उनले सामाजिक सञ्जालमार्फत भूकम्पमा परि मृत्यु हुनेहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन्। प्रधानमन्त्री देउवाले घाइतेहरूको तत्काल उचित उपचारको प्रबन्ध गर्न समेत आग्रह गरेका छन्।
खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु रहेको भूकम्पका कारण डोटीमा घर भत्किँदा ६ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
मृत्यु हुनेमा ठाडा गाउँकी ३८ वर्षीया भगवती बोहरा, उनकी १३ वर्षीया छोरी सीता बोहरा र ७ वर्षीय छोरा हर्क बोहरा रहेका छन्। त्यसैगरी सोही ठाउँका ४५ वर्षीय प्रेम बोहरा, उनकी १२ वर्षीया छोरी तुलसी बोहरा र राति बोहराकै घरमा सुतेकी स्थानीय महाविर बोहराकी १७ वर्षीया छोरी धनसरीको मृत्यु भएको छ।
मंगलबार साँझ ९ बजेर ७ मिनेटमा ५ दशमलव ७ म्याग्नीच्यूडको र मध्यराति २ बजेर १२ मिनेटमा ६ दशमलव ६ म्याग्निच्यूडको भूकम्प गएको थियाे। भूकम्पले पूर्वी चौरमा ठूलो क्षति पुर्याएको छ । भूकम्पले यहाँ सहित ग्रामीण भेगका दर्जनौँ घरहरू भत्किएका छन् ।
