काठमाडौं। पृथ्वी राजमार्ग सडक विस्तारको क्रममा साढे चार हजार भन्दाबढी रुख कटान हुने भएका छन्। तीव्र रुपमा भइरहेको राजमार्ग विस्तार कार्यमा यस अघि चार हजार दुई सय पाँच रुख कटान भइसकेका छन् भने अब चार सय ६६ रुख काटिने भएका हुन्।
आयोजनाका ९० प्रतिशत रुख कटान भइसकेको छ । बाँकी रहेका रुखमध्ये पनि सकेसम्म बचाएर काट्नै पर्ने रुख मात्र काट्ने योजना रहेको आयोजनाले जनाएको छ।
सडक विस्तार गर्न बिजुलीका पोल, पानीका पाइप र टेलिफोनका तार बाधक बनेका छन् । उक्त सडक खण्डमा दुई हजार चार सय बिजुलीका पोल र ३९ किलोमिटर खानेपानीको पाइप हटाउनु आयोजनाले जनाएको छ। सडक विस्तारका क्रममा सडकका दायाँबायाँ रहेका घर गोठ भत्काइँदा साढे आठ करोड क्षतिपूर्ति वितरण गरिसकेको छ।
व्यक्तिगत संरचना सात सय ६७ र हाउसहोल्ड आठ सय १० भत्काइएका छन् । आइपिएसमार्फत क्षतिपूर्ति रकम भुक्तानी गरिएको छ ।
जग्गाधनी पुर्जा भएका र नभएकाबीच कुनै विभेद नगरी क्षतिपूर्ति दिइने योजना बनाएको आयोजनाको भनाइ छ । क्षति भएका व्यक्तिलाई पुनर्वास योजनामा राखी आयमूलकतर्फ केन्द्रित गरिने जनाइएको छ ।