काठमाडौं। निर्माणाधीन नागढुंगा सुरुङमार्ग आयोजनाको निर्माण समयावधी ३ महिना थप गरिएको छ। ४२ महिनामा आयोजना सम्पन्न गर्ने गरी सडक विभागसँग सम्झौता भएकोमा ३ महिना थप गरेर ४५ महिना पुर्याइएको हो।
कोभिड १९ का कारण काम सोचे जस्तो गतिमा गर्न नसकिएकाले म्याद थप गर्नु परेको आयोजना कार्यालयको भनाइ छ ।
जापानी निर्माण कम्पनीहाज्मा आन्दो कर्पोरेशन र सडक विभागबीच २३ सेप्टेम्बर २०१९ मा सम्झौता भइ १४ नोभेम्बर २०१९ देखि ठेक्का शुरुवात भएको थियो। उक्त सुरु भएको मितिदेखि ४२ महिनामा आयोजना सम्पन्न हुने गरी सम्झौता भएको थियो।
तर अहिले ३ महिना थप गरेपछि आयोजना २० जुलाई २०२३ मा सम्पन्न हुने नयाँ कार्यतालिका तय भएको छ । कुनै असहज अवस्था नआएको खण्डमा तोकिएकै सिमारेखा भित्र आयोजना सम्पन्न हुने आयोजनाले जनाएको छ।
आयोजनाको म्याद थप भए पनि लागतमा भने कुनै परिवर्तन नगरिएको आयोजना कार्यालयले जानकारी दिएको छ । आयोजना निर्माण सम्पन्न गर्न कुल लागत २२ अर्ब रुपैयाँ पुग्ने अनुमान छ । थालनीमा २० अर्ब ६० करोड रुपैयाँ हुने अनुमान थियो ।
तर, जापानिज येन बलियो हुनु र संरचनाको लागि जग्गा प्राप्तिमा भएको खर्च बढेर २२ अर्ब १४ करोड रुपैयाँ पुगेको हो । नागढुंगा सुरुङमार्गको समग्र कामको प्रगति भने हालसम्म ४५ प्रतिशत नाघेको छ ।