काठमाडौं। म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा पालिका स्तरीय अस्पतालको भवन निर्माण सुरु भएको छ। संघीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने योजना अनुसार ताकममा भवन निर्माण हुन लागेको हो। ५ शैया क्षमताको अस्पतालका लागि दुई तले १६ कोठे भवन निर्माण सुरु भएको धवलागिरी गाउँपालिकाका इञ्जिनियरले जानकारी दिएका छन्।
आकस्मिक, अन्तरंग, बहिरंग, प्रयोगशाला, प्रशासनिक, औषधी भण्डारण, उपचारका लागि छुट्टा–छुट्टै कक्ष सहितको भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गमैत्री अस्पताल भवन निर्माण गर्न लागिएको हो। आगामी २०७९ असार १५ गतेभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ। चार करोड ७९ लाख ४० हजार ३३४ रुपैयाँमा अस्पताल भवन निर्माणका लागि बिएम–आइएस–एसी जेभी बुर्तिबाङ बागलुङले ठेक्का सम्झौता गरेको छ। गत चैत महिनामा सम्झौता गरेको ठेकेदारले जग्गा व्यवस्थापन सकेर पिल्लर ठडाई भुई ढलान डिपिसी सकेको छ।
निर्धारित समय भित्रनै भवन निर्माण सम्पन्न गर्ने लक्ष्यसहित औजार, निर्माण सामग्री जुटाएर मजदुर परिचालन गरेको निर्माण व्यवसायीले जानकारी दिएका छन्। धवलागिरीको ७ मै पर्ने अर्को वस्ती धारापानीमा गत वर्ष स्थापना भएको स्वास्थ्य चौकी र ३ मुना स्वास्थ्य चौकीको भवन पनि निर्माण भइरहेको छ।
त्यस्तै धवलागिरीको ताकमका साथै मंगला र अन्नपूर्ण गाउँपालिकाले पनि आधारभूत अस्पताल भवन निर्माण सुरु गरेका छन्। मंगलाले अर्मन स्वास्थ्य चौकीको भवन परिसर र अन्नपूर्ण गाउँपालिकाले १ दोबामा अस्पताल भवन निर्माण गर्न लागेका छन्। अस्पताल बनाउन सरकारले गत आवमा अन्नपूर्ण र धवलागिरी गाउँपालिकालाई ७०/७० लाख, रघुगंगा र मंगला गाउँपालिकालाई ८५/८५ लाख रुपैयाँ बजेट पठाएको थियो।