काठमाडौं। नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले व्यवसायी मैत्री ऐन नियमको अभावमा निर्माण उद्योगमा धेरै चुनौती थपिएको बताएका छन्। महासङ्घ एसोसिएट सदस्य समन्वय कार्य समितिको दसौँ साधारण भेलालाई राजधानीमा सम्बोधन गर्दै उनले व्यवसायी मैत्री ऐन नियम जारी नभए महासङ्घ सङ्घर्षमा उत्रने साथै खरिद ऐन संशोधनको अन्तिम प्रक्रियामा रहेको अवस्थामा त्यसलाई पूर्ण व्यवसायी मैत्री बनाउन महासङ्घ नेतृत्वले इमान्दार प्रयास गरिरहेको अध्यक्ष सिंहले बताएका छन्।
महासङ्घका सल्लाहकार तथा पूर्वाध्यक्षले निर्माण उद्योगलाई मर्यादित तथा व्यवस्थित बनाउन सबैको इमान्दार प्रयास आवश्यक भएको धारणा राख्दै लो बिडिङका कारण निर्माण उद्योगमा धेरै समस्या देखिएकाले नीतिगत रूपमै लो बिडिङ अन्त्य हुनुपर्ने बताएका छन्।
महासङ्घका अर्का सल्लाहकार तथा पूर्वाध्यक्ष सुकुन्तलाल हिराचनले निर्माण उद्योगमा धेरै चुनौती देखिएको अहिलेको अवस्थामा पेसागत हकहितका लागि सबै एक हुनुपर्ने विचार राखेका छन्। महासङ्घका वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेले विभिन्न समस्यासँग जुध्दै निर्माण व्यवसायीले उत्कृष्ट काम गरिरहेको जानकारी गराएका छन्। महासङ्घ एसोसिएट सदस्य समन्वय कार्य समितिका संयोजकसमेत रहेका उपाध्यक्ष आङदोर्जी लामा एडीले महासङ्घको विकास विस्तारमा एसोसिएट सदस्यहरूको महत्वपूर्ण भूमिका रहेको जानकारी गराएका हुन्।
निर्माण उद्योगमा विशिष्ट योगदान दिने अग्रज एसोसिएट सदस्य निर्माण व्यवसायीलाई सोही भेलामा सम्मान गरिएको थियो। उक्त भेलामा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव एवं कार्यान्वयन समितिका अध्यक्ष इन्जिनीयर केशवकुमार शर्माले बोलपत्रमा लो-बिड तथा बीमा विज्ञ इन्जिनियर जगन्नाथ गौतमले निर्माण उद्योगमा बीमाका सम्बन्धमा आफ्नो प्रस्तुति राखेका थिए।