काठमाडौं। सूर्यविनायक–धुलिखेल सडक विस्तार आयोजनाको पहिलो खण्डको ठेक्का लागेको छ। ४ अर्ब ५६ करोड रुपैयाँ लागतको सूर्यविनायक–धुलिखेल सडक विस्तारको ठेक्का लामा कन्स्ट्रक्सन कम्पनीले पाएको हो।
पहिलो खण्डको सडक विस्तारका लागि आह्वान गरिएको ठेक्कामा ५ वटा निर्माण व्यवसायीको आवेदन परेको थियो। आर्थिक प्रस्तावमा सबैभन्दा कम लागत लामा कन्स्ट्रक्सनको परेकाले उसैले ठेक्का पाएको आयोजनाले जनाएको छ।
ठेक्कामा आवेदन दिने निर्माण कम्पनीहरुमा लामा कन्स्ट्रक्सन, शर्मा एण्ड कम्पनी, आशिष कन्स्ट्रक्सन, स्वच्छन्द निर्माण सेवा थिए।
आयोजनाको ठेक्कामा अन्तर्राष्ट्रिय कम्पनी भने सहभागी भएनन्। पछिल्लो पटक संशोधन भएको सार्वजनिक खरीद ऐनले ५ अर्बभन्दा कम लागानीका ठेक्कामा नेपाली निर्माण कम्पनी मात्र सहभागी हुन पाउने प्रावधान बनाएको छ।
अब यो खण्डको निर्माण कार्य एक महिनाभित्र सुरु हुने बताइएको छ। ठेक्का पाउने निर्माण व्यवसायीले ३ वर्षभित्र निर्माण पुरा गर्नुपर्ने र निर्माण सम्पन्न भएको एक वर्षसम्म मर्मतको जिम्मा समेत लिनुपर्ने छ।
आयोजनाले साँगादेखि धुलिखेलसम्मका लागि अनुमानित ४ अर्ब ८९ करोड रुपैयाँ लागतमा भदौ १४ गते ठेक्का आब्हान गरेको थियो।