काठमाडौं। नेपालको सडक पूर्वाधार दीगो नहुनुमा सडकको सतह खिइदै जानु एउटा समस्या हो। यसको कारण सडकको सतहले धान्नेभन्दा धेरै तौल बोकेका यातायातका साधनको कारण बिग्रिदै गएको विज्ञहरूले बताएका छन्।
सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एण्ड इञ्जिनियरिङ फर्मस् (स्काफ) नेपालले बिहीबार आयोजना गरेको ‘डिजास्टर रिजिलियण्ट एण्ड सस्टेनेवल इन्फ्रास्ट्रचर फर बेटर फ्युचर’ नामक राष्ट्रिय सम्मेलनका अवसरमा बोल्दै विज्ञहरुले सडकको सतह खिइनुको कारण अत्याधिक तौल बोकेका सवारी साधन नै मुख्य कारण भएको बताएका हुन्।
उनीहरुले भनेका छन्, ‘तोकिएको भन्दा धेरै तौल बोक्नु समस्याको कारण हो । यसको समाधानको रुपमा वेट पुल ल्याए पनि सरकारले पूर्ण कार्यान्वयनमा ल्याउन सकेको छैन् । यसलाई कार्यान्वयन गरे समस्या घट्दै जानेछ।’
सम्मेलनमा ढलको व्यवस्थापन नहुँदा पनि सडकको सतहमा समस्या देखिएको बताएका छन् । यसको लागि ढल सुधार बनाउनुपर्ने विज्ञहरुको भनाइ छ । त्यसबाहेक अप्रभावकारी डिजाइन, राम्रोसँग निर्माण नगर्नु, समयमा मर्मत नहुनु र सडक पुलको निर्माण समाग्री निकाल्दा पनि समस्या भइरहेको निश्कर्ष निकालिएको छ।