फाइल तस्बिर
काठमाडौं। ललितपुरको ग्वार्को चोकमा फ्लाइ ओभर निर्माणको काम शुरु हुन लागेको छ। फ्लाइ ओभरको काम शुरु भएसँगै यातायातका साधनहरु भने उक्त सडक भएर सञ्चालनमा रोक लगाइने छ।
ट्राफिक प्रहरी कार्यालयले फ्लाइ ओभरको काम शुरु भएपछि आगामी मंसिर २३ गतेदेखि यातायात सञ्चालनका लागि वैकल्पिक व्यवस्था गरिएको जनाएको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मंसिर २३ गते बिहान ६ बजेदेखि निर्माण कार्य सम्पन्न नभएसम्म कोटेश्वरबाट सातदोबाटोतर्फ जाने यात्रुबाहक, माहलबाहक तथा दुई पाङ्ग्रे सवारी साधनहरूलाई बालकुमारी पुलबाट सर्भिस लेनमा र साना चारपाङ्ग्रे सवारी साधनहरूलाई फास्ट ट्रयाकबाट चलाइने छ।
कोटेश्वरबाट सातदोबाटोतर्फ जाने र आउने सम्पूर्ण सवारी साधनलाई ग्वार्को चोकभन्दा ६ सय मिटर अगाडि र पछाडि सर्भिस लेन हुँदै चलाइने छ।
बल्खुबाट सातदोबाटो हुँदै कोटेश्वरतर्फ आउने यात्रुबाहक, माहलबाहक तथा दुईपाङ्ग्रे सवारी साधनलाई बल्खुबाट सर्भिस लेनमा र साना चारपाङ्ग्रे सवारी साधनलाई फास्ट ट्रयाकबाट संचालन गरिने ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।